एजेन्सी– विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको सबैभन्दा बढी प्रभाव युरोपमा परेको छ। युरोपका इटाली, स्पेन, बेलायत, स्वीट्जरल्यान्ड लगायतका मुलुकहरुमा कोरोना भाइरस संक्रमणको बढी प्रभाव परेको छ।
इटाली विश्वकै सबैभन्दा कोरोनाको माहामारी फैलिएको राष्ट्रमा परेको छ। शुक्रबार मात्र ६२७ जनाको मृत्यु भई मर्नेको संख्या ४ हजार ३२ पुगेको छ। चीनको वुहानबाट सुरु भएको यो महामारीका कारण चीनमै भने अहिलेसम्म ३ हजार २४८ जनाको मृत्यु भएको छ।
त्यसैले इटाली कोरोना महामारीको विश्वकै सबैभन्दा प्रभावित मुलुक बनेको छ। ४७ हजार २१ जनामा भाइरस संक्रमित भएको सो मुलुकमा २४ घण्टाभित्र नयाँ संक्रमित हुनेहरुको संख्या ५ हजार ९ सय ८६ देखिएको छ भने उपचार गरेर फर्किनेहरुको संख्या ५ हजार १ सय २९ रहेको छ।
त्यस्तै,अर्को युरोपेली मुलुक स्पेनमा पनि कोरोना भाइरसको संक्रमण तिव्र गतिमा फैलिरहेको छ। स्पेनमा शुक्रबार मात्र २ सय १२ जनाको मृत्यु भएको छ। योसहित मर्नेहरुको संख्या १ हजार ४३ पुगेको छ। सो देशमा संक्रमितहरुको संख्या २० हजार ४ सय १२ पुगेको छ भने शुक्रबार नयाँ संक्रमित हुनेहरुको संख्या २३ सय ३५ जना देखिएको छ।
त्यस्तै बेलायतमा पनि शुक्रबार ४० जनाको मृत्यु भएको छ भने योसहित मृत्यु हुनेको संख्या १ सय ८४ जना पुगेको छ। यसैगरी अन्य युरोपेली मुलुकहरु पनि कारोना भाइरसको चपेटामा परेका छन्।