एजेन्सी– विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले युवाहरूमा पनि कोरोनाभाइरस सङ्क्रमणको जोखिम रहेको भन्दै उनीहरूलाई वृद्ध र बढी खतरामा रहेका मानिसहरूसँग भेटघाट र कुराकानी नगर्न भनेको छ।
युवाहरूको व्यवहार ‘अन्य व्यक्तिको लागि जीवन र मरणबीचको फरक हुनसक्ने’ डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले बताएका छन्। संसारभर कोभिड–१९ का कारण ११,००० भन्दा धेरै मानिसको ज्यान गएको छ। झण्डै २५०,००० मानिसहरूमा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भइसकेको छ।
कोरोनाभाइरसबाट युवाहरूलाई जोखिम कम भएको विवरणबीच धेरै देशहरूमा युवाहरूले स्वास्थ्य सुझाव पालना नगरेको समाचार आएपछि डब्ल्यूएचओका प्रमुखको भनाइ आएको हो। कोरोनाभाइरस सङ्क्रमण चीनबाट सन् २०१८ को डिसेम्बरमा शुरू भएपनि अहिले युरोप यसको केन्द्रविन्दु बनेको छ। सबैभन्दा धेरै मानिसको ज्यान इटलीमा गएको छ जहाँ शुक्रवारसम्म ४,०३२ जनाको मृत्यु भइसकेको छ।
शुक्रबार धेरै देशहरूले यसको प्रकोप कम गर्न विभिन्न नयाँ उपायहरू अपनाएका छन्ः
नेपालः अत्यावश्यकबाहेक सबै सेवा चैत ९ गतेदेखि २१ गतेसम्म रोक्ने, सबै अन्तर्राष्ट्रिय उडानहरू चैत्र ९ देखि १८ गतेसम्म स्थगित गरिने र सबै लामो दूरीका यात्रुवाहक बसलाई चैत १० गतेदेखि केही अवधिका लागि रोक लगाइने प्रधानमन्त्रीले घोषणा गरेका छन्।
यूकेः प्रधानमन्त्री बोरिस जोनसनले शुक्रवार रातिबाट सबै क्याफे, पब र रेस्टुरेन्टहरू बन्द हुने बताएका छन्।
अमेरिकाः मेक्सिको र क्यानडासँगको सीमा बन्दस न्यूयोर्कमा अति आवश्यक बाहेकका व्यवसायहरू बन्द गर्न निर्देशन दिइएको छ।
स्पेनः अति आवश्यक कामबिना घर बाहिर निस्कने नागरिकलाई सेनाले हिरासतमा लिनसक्ने चेतावनी दिइएको छ।
जर्मनीः दोस्रो ठूलो प्रान्त ब्राभारीया प्रतिबन्धात्मक व्यवस्था लागु गरिएको छ।
इन्डोनेशियाः राजधानी जाकार्तामा सोमवारदेखि आपत्काल लगाइने घोषणा गरिएको छ।
डब्ल्यूएचओको भनाइ
अनलाइन पत्रकार सम्मेलनमा बोल्दै डा. टेड्रोस एड्हानोम गेहब्रेयससले भनेः “धेरै उमेरका मानिसहरूलाई बढी प्रभावित पारेपनि यसबाट युवा जोखिममुक्त छैनन्“
“मसँग युवाहरूको लागि सन्देश छस् तपाईँहरू जोखिममुक्त हुनुहुन्न, यो भाइरसले तपाईँलाई हप्तौँसम्म अस्पतालमा राख्न सक्छ र मार्न पनि सक्छ। तपाईँ बिरामी नभएपनि तपाईँको के गर्ने भन्ने निर्णय अन्य व्यक्तिका लागि जीवन वा मरणको सवाल बन्न सक्छ।’’ उनले वुहानमा नयाँ सङ्क्रमण नदेखिएको भन्दै चिनियाँ सहरको प्रशंसा गरे। उनले यसले बाँकी विश्वका लागि आशा पैदा गरेको बताए।
के युवा जोखिममुक्त छन्?
अध्ययनहरूले सबै उमेरका मानिसहरूलाई यो भाइरसको सङ्क्रमण हुनसक्ने देखाएको छ। तर वृद्धवृद्धा र अन्य स्वास्थ्य समस्या भएका व्यक्तिहरूमा यो सबैभन्दा घातक देखिएको छ
इटलीमा कोभिड–१९ बाट मृत्यु हुनेको औसत उमेर ७८.५ रहेको छ। न्यूयोर्क टाइम्सका अनुसार चीनमा ५० वर्षभन्दा कम उमेरका व्यक्तिको मृत्युदर एक प्रतिशतभन्दा कम छ। तर ८० वर्ष उमेर नाघेका १५ प्रतिशत मानिसमा यो घातक छ। रोयटर्सका अनुसार डब्ल्यूएचओले यसको सङ्क्रमण रोक्न सामाजिक दूरीभन्दा पनि शारीरिक दूरी राख्नुपर्ने नयाँ सुझाव दिन थालेको छ। बीबीसी