काठमाडाैं– चीनको वुहान शहरबाट शुरु भएको कोरोना भाईरसको संक्रमण हालसम्म विश्वका १ सय ८६ देशमा फैलिएको छ। भाइरसका कारण अहिलेसम्म ११ हजार ८ सय ३९ जनाले ज्यान गुमाईसकेका छन्। कोभिड १९ नाम दिइएको यस भाईरसबाट २ लाख ८४ हजार ५ सय ३४ जना संक्रमित छन् भने ९३ हजार ५ सय ६६ जनाको उपचार सफल भएको छ। त्यस्तै भाईरस संक्रमित ८ हजार एक सय ९ जनाको अवस्था गम्भिर छ।
कोरोना भाइरसको शक्ति यसअघि फैलिएको सार्स (सभर एक्युट रेस्पिरेटोरी सेन्ड्रोम) भाइरस भन्दा कमजोर भएपनि कोरोनाबाट प्रभावित राष्ट्र र मृत्यु हुनेको संख्या सार्स भन्दा कैयौं गुणा धेरै छ। सन् २००२ देखि २००४ सम्म माहामारीको रुपमा फैलिएको सार्स भाइरसबाट २६ राष्ट्र प्रभावित भएका थिए भने करिब ८ सय जनाले ज्यान गुमाएका थिए।
कोरोना भाईरसको संक्रमणबाट चीन, इटाली, इरान, स्पेन, दक्षिण कोरिया, जर्मनी, फ्रान्स, अमेरीका सबै भन्दा बढी प्रभावित भएका छन्। यस भाईरसले चीनमा मात्रै ३ हजार २ सय ५५ जनाको ज्यान लिइसकेको छ भने एक हजार ९ सय २७ जनाको अवस्था निकै गम्भिर छ। चीनमा संक्रमित भएका ८१ हजार ८ जनामध्ये ७१ हजार १ सय ४० जनाको उपचार सफल भएको छ।
कोरोना भाईरस संक्रमितहरुको संख्या चीनमा बढि भएपनि मृत्युहुनेको संख्या इटालीमा धेरै छ। हालसम्म त्यहाँ ४ हजार ३२ जनाले ज्यान गुमाईसकेका छन् भने २ हजार ६ सय ५५ जनाको अवस्था गम्भिर छ। अहिलेसम्म इटालीमा ४७ हजार २१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
यसैगरी कोरोनाको संक्रमणबाट इरानमा १ हजार ५ सय ५६, स्पेनमा १ हजार ३ सय २६, फ्रान्समा ४ सय ५०, अमेरिकामा २ सय ७५ र बेलायतमा १ सय ७७ जनाको मृत्यु भएको छ। २ सय ८३ जनामा संक्रमण देखिएको भारतमा अहिलेसम्म ५ जनाको मृत्यु भएको छ भने नेपालमा अहिले कसैमा पनि भाइरसको संक्रमण देखिएको छ। यसअघि १ जनामा संक्रमण देखिएपनि उनी निको भइसकेका छन्।
नेपाल सरकारले कोरोना भाईरसको संक्रमणलाई रोकथाम गर्न भिडभाड हुने ठाउँहरु कम गर्ने निति लिएको छ। सरकारले एसइइ लगायत विश्वविद्यालय अन्तर्गत हुने सम्पूर्ण परिक्षाहरु स्थगित गरेको छ। यस्तै २५ जना भन्दा बढी मानिस भेला भएर कुनै पनि काम नगर्न भनिएको छ।
सरकारले सार्वजनिक यातायातमा पनि सिटसंख्या भन्दा बढि यात्रु नराख्न निर्देशन दिएको छ। यस्तै नागरिक सचेतनाका लागि नेपाल टेलिकमको मोबाइल नम्बरहरुमा कोरोना भाईरसको संक्रमणबाट जोगिन अपनाउनुपर्ने सतर्कता सन्देश सहितको ‘रिङब्याक टोन’ राखिएको छ।
वैज्ञानिकहरुको अनुसन्धान अनुसार कोरोना भाइरसका जिवाणु हावामा ३ घण्टासम्म जिवित रहन्छन् भने तामामा ४ घण्टा सम्म बाच्छन्। त्यस्तै कार्डबोर्डमा २४ घण्टासम्म जीवीत रहने यो भाइरसको आयु प्लास्टीक र फलाममा भने २ देखि ३ दिन सम्म हुन्छ।
कोरोना भाइरसका कारण सबैभन्दा बढि को संक्रमित?
रोग प्रतिरोध शक्ति कम भएको मानिसमा कोरोना भाइरसले छिटै आक्रमण गर्छ। कोरोना भाइरसबाट वृद्ध र धुम्रपान गर्ने व्यक्तीहरु बढी प्रभावित हुने चिकित्सकहरुले पुष्टि गरिसकेका छन्।
त्यस्तै मधुमेह, रक्तचाप, मुटु रोग रक्यान्सरका बिरामीहरु पनि यो भाइरसको उच्च जोखिममा परेका छन्। घाँटीभित्रका कोष, श्वासनली र फोक्सोलाई यो भाइरसले असर गर्छ। धुम्रपान गर्ने मानिसको पहिला नै फोक्सोमा असर हुने हुँदा उनीहरु बढी प्रभावित हुने चिकित्सकहरुको भनाई छ।
कोरोना भाइरसबाट कसको बढी मृत्यु?
विश्व स्वास्थ्य संगठनले निकालेको मृत्यु दरको पछिलो विवरण अनुसार कोरोना भाईरसको संक्रमणबाट मुटु रोग भएका बिरामीहरुको सबैभन्दा बढि मृत्यु भएको छ। मृत्यु हुनेमध्येमा मुटु रोगीको संख्या १३.२ प्रतिशत छ। यसैगरी मृत्युहुने मध्ये मधुमेहका रोगीहरु ९.२ प्रतिशत, उच्च रक्तचापका बिरामी ८.४, दमका बिरामी ८ तथा क्यान्सरका विरामीहरु ७.६ प्रतिशत छन्।
कोरोना भाइरसका कारण बढी ज्यान गुमाउनेमा ८० वर्षभन्दा माथिका मानिसहरु रहेको चीनको राष्ट्रिय स्वास्थ्य संस्थाले जनाएको छ। वुहान शहरको अवस्थालाई अवलोकन गरी निकालिएको तथ्यांक अनुसार, ९ बर्ष भन्दा कम उमेर समूहका बालबालिकाको सबै भन्दा कम संख्यामा मुत्यु भएको छ। वुहान शहरमा मृत्युहुने मध्ये १८ प्रतिशत मानिसहरु ८० वर्षभन्दा माथिका छन् भने ९ बर्ष भन्दा कम उमेर समूहका ०.०१ प्रतिशत छन्।
यस्तै मृत्युहुनेको संख्यामा ९.८ प्रतिशत ७० देखि ७९ बर्ष उमेर समूहका मानिहरु छन्। यसैगरी, ६० देखि ६९ उमेर समूहमा ४.६ प्रतिशत, ५० देखि ५९ बर्ष समूहका १.३ प्रतिशत, ३० देखि ३९ बर्ष उमेर समूहका ०.१८ प्रतिशत र ४० देखि ४९ वर्ष उमेर समूहमा ०.४० प्रतिशतले मृत्यु भएको छ।
यसैगरी, ० देखि ९ वर्षका मानिसहरुको मृत्यु १ प्रतिशत भन्दा कम देखिन्छ। १० देखि १९ वर्षका मासिहरुको मृत्यु ०.०२ प्रतिशत रहेको छ भने २० देखि २९ बर्ष समूहका मृत्यु हुनेको संख्या ०.०९ प्रतिशत छ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस पहिलो पटक चीनको हुवेई प्रान्त स्थीत वुहान शहरको एक ५५ वर्षिय पुरुषमा २०१९ नोभेम्बर १७ मा भेटिएको थियो। त्यसको करिब १ महिना पछि २०१९ डिसेम्बर २७ मा हुबेई प्रान्त अस्पतालको श्वसन विभागका प्रमुख चिकित्सक जाङ जिक्सियनले कोरोना भाइरस पत्ता लगाएका थिए।
शुरुमा ‘२०१९ नोवल कोरोना भाइरस’ नाम दिएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले पछि यसको नाम परिवर्तन गरी ‘एन कोभिड–१९’ राखेको छ। जसको अर्थ ‘नोवल कोरोना भाइरस डिजीज २०१९’ हो। कोरोना भाइरस भनेको भाइरसको एउटा ठूलो परिवार हो। हालसम्मको प्राप्त जानकारी अनुसार कोरोनाभाइरस रुघा लगाउने भाइरसको एक प्रजाति हो। यो भाइरसको जीनोमिक साइज करिब २७ देखि ३४ किलोबास सम्म हुन्छ।
विश्वभर कोरोना भाइरस संक्रमितमा मृत्युहुनेको दर करिब ३.४ प्रतिशत पुगेको छ। विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस अदहानोम घेब्रिएससले कोरोनाको केन्द्र बिन्दु चीनको वुहानमा मृत्युदर २ देखि ४ प्रतिशत रहेको बताएका थिए। त्यस्तै वुहान बाहीर भने यसको मृत्युदर ०.७ को नजिकमा रहेको मानिन्छ। यद्यपि केही अनुमानले यसलाई २ प्रतिशतको नजिकमा राखेको छ। सार्सको मृत्यु दर भने ९.६ प्रतिशत थियो।
कसरी सर्छ कोरोना भाइरस?
यो भाइरस हावाको माध्यमबाट नभई तरल कणको माध्यमबाट सर्ने गर्छ। भाइरसबाट संक्रमित व्यक्तिको शारीरबाट निस्कने तरल पदार्थको कण मार्फत छोटो दुरीमा रहेको अर्काे व्यक्तिमा सर्न सक्छ। संक्रमित व्यक्तिले खोक्दा वा हाछ्यँु गर्दा निस्कने तरल कणहरु प्रत्यक्ष रुपमा आँखा, मुख तथा नाकमा पर्यो भने यो रोग सर्न सक्दछ।
त्यस्तै अप्रत्यक्ष रुपमा पनि संक्रमित व्यक्तिका थुकका कणहरु कुनै स्वस्थ व्यक्तिको शरीर भित्र प्रवेश गरेमा यो रोग सर्न सक्छ। कोरोना लागेको व्यक्तिले खोक्दा वा हाछ्युँ गर्दा उसको नाक र मुखबाट निस्कने तरल कणहरु टेबल, कुर्सी, बेन्च आदिको सतहमा पर्न सक्छन्। यसरी तरल कणमार्फत निस्किएका भाइरसका जिवाणु केहि दिनसम्म त्यही सतहमा जिउँदै रहन सक्छन्।
यदि कसैले ती टेबल वा कुर्सीको सतहमा छोयो भने उक्त व्यक्तिको हातमा ती किटाणुहरु सर्न सक्छन्। अनि तिनै हातलाई नधोईकन आँखा, नाक तथा मुखमा छोयो भने ती किटाणुहरु शरिरमा प्रवेश गर्छन्। यसरी शरिरमा प्रवेश गरेपछि पनि भाइरस फैलिन र स्थापित हुन केही समय लाग्छ। त्यसलाई इन्क्युबेशन पीरीयड अथवा संक्रमणकाल भनिन्छ।
भाइरसहरूले शरीरका कोषभित्र पसेर तीनलाई आफ्नो नियन्त्रणमा लिने गर्छन्। त्यसले पहिला घाँटीभित्रका कोष, स्वासनली र फोक्सोलाई असर गर्न थाल्छ। बिस्तारै ती अङ्गहरु कोरोनाभाइरस उत्पादन गर्ने कारखानाजस्तै बन्न पुग्छन् र धेरै भाइरसहरु उत्पादन हुन थाल्छन्।
यसरि ती भाइरसले थप कोषलाई आक्रमण गरेर त्यसमा आधिपत्य जमाउन थाल्छन्। प्रारम्भिक अवस्थामा शरिरमा भाइरस प्रवेश गरेपनि विरामी नपर्न सक्छन्। केही मानिसलाई त कहिल्यै कुनै लक्षण नै देखिँदैन। भाइरस स्थापित हुने संक्रमणकालीन अवधि सरदर पाँच दिनको भएको पाइएको छ।
कोरोना भाईरसबाट कसरी बच्ने?
विश्वव्यापी रुपमा फैलिरहेको यो भाइरसको हालसम्म कुनै औषधी बनी नसेकेको हुनाले पुर्व सावधानी नै उत्तम उपाय मानिएको छ। यसका लागि साबुन पानीले राम्रोसँग हात धुन, सावुन पानी उपलब्ध नभएको खण्डमा ह्याण्ड स्यानिटाइजरले हात सफा गर्न, दिनहुँ लुगा फेर्न तथा माक्सको प्रयोग गर्न सुझाईएको छ।
यसका साथै रोगसँग लड्ने क्षमताको विकास गर्न स्वस्थकर खानेकुरामा बढी ध्यान दिनु आवश्यक छ। १ सय ४ डिग्री भन्दा बढी ज्वरो आएमा, श्वासप्रश्वासमा समस्या भएमा र रुघाखोकी लागेमा तत्काल अस्पताल गई स्वस्थ्य परिक्षण गराउनु पर्ने छ।