सर्लाही– सर्लाहीको लालबन्दी नगरपालिका–१४ नारायण खोलामा रहेको स्वास्थ्य चौकीमा सेवाग्राही नहुँदा स्वास्थ्यकर्मी गफ गरेर दिन बिताउन बाध्य छन्।
दूर्गम क्षेत्रमा रहेको चौकीमा मुश्किलले दैनिक एक÷दुई जनामात्र सेवाग्राही स्वास्थ्य सेवा लिन आउने हुँदा आफूहरु फुर्स्दिलो भएकोे अनमी रीता भण्डारीले बताएका छन्। उनले भने ‘कुनै दिन त सेवाग्राही नै आउँदैनन। के गरेर बस्नु त ? सेवा बन्द गरेर घर जानु भएन?’ कतिपय औषधि समयमै प्रयोगमा नआउँदा अवधिसमेत गुज्रिएको छ।
सो चौकीमा पुग्न सवारी साधनको सहज पहुँच छैन। घण्टौँ हिँडेर सेवाग्राही सेवा लिन बाध्य छन्। स्वास्थ्य चौकी नजिकैका सीमित सेवाग्राही मात्र सेवा लिन आउने गरेको अनमी भण्डारीले जानकारी दिए। चौकीमा प्रसूतिसहितको सेवा उपलब्ध भए पनि अधिकांशले घरमा नै सुत्केरी गराउने गरेका स्वास्थ्य चौकीको तथ्याङ्कले देखाएको छ।
सो क्षेत्रको मुख्य बजार लालबन्दी रहेका कारण उपचार चौकीमा सेवाग्राही कम भएको जनाइएको छ। लालबन्दी नगरपालिका स्वास्थ्य शाखा सहसंयोजक सुरेन्द्र खतिवडाले स्वास्थ्य चौकी नारायणखोलामा महिनामा बल्लतल्ल ३०\३५ सेवाग्राही आउने गरेका जानकारी दिएका छन्। सो स्वास्थ्य चौकीमा अहिले दुई हेल्थ असिस्टेन्ट, दुई अहेब र एक अनमी कार्यरत छन्।
सो स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीलाई नगरपालिकाले आन्तरिक स्रोतबाट तलबको आठ प्रतिशत बढी सेवा सुविधा प्रदान गर्दै आएको छ। नगरको विकट क्षेत्रको स्वास्थ्य चौकी रहेका कारण त्यहाँ खटिने स्वास्थ्यकर्मीलाई सो सेवा सुविधाको व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ। (रासस)