काठमाडौं– मिर्गौला हाम्रो शरीरको लागि महत्वपूर्ण अंग हो। मिर्गौलाको काम शरीरमा रगतलाई शुद्धिकरण गर्नु हो। मिर्गौलाले शरीरमा रहेका विजातीय पदार्थलाई बाहिर निकालेर रगतको सफाई गर्दछ र शरीरलाई आवश्यक हुने खनिज तत्व र अम्लीय पदार्थलाई बचाई राख्दछ। जब मिर्गौलाको कार्यक्षमतामा ह्रास आउँछ, शरीर विषाक्त बन्छ। एकपछि अर्को अंगमाथि भार थपिन्छ। अन्ततः समग्र शरीर नै कमजोर र रोगी हुन्छ।
बदलिँदो जीवनशैली तथा खानपानका कारण अहिले धेरै मानिस मिर्गौलासम्बन्धी समस्याबाट ग्रस्त छन् । स्वस्थ जीवनशैली तथा खानपान अपनाए यसबाट सजिलै जोगिन सकिन्छ। यहाँ हामीले ध्यान नदिँदा मिर्गौला बिग्रन सक्ने केही आनीबानीको बारेमा केही चर्चा गर्नेछौं।
पिसाब रोक्नु– यदि तपाई नियमितरुपमा पिसाब रोक्ने गर्नुभएको छ भने यस्तो बानी तपाईंको मिर्गौलाको लागि हानिकारक हुन्छ। यस्तो अवस्थामा किड्नीमा पत्थरी हुने सम्भावना बढ्छ। यसले मिर्गौलालाई एकदमै नोक्सान पुर्याउँछ। यसकारण, पिसाब लागेको बेला कहिल्यै नरोक्नुहोस्।
पानी कम पिउनु– यदि तपाई पानी कम पिउनुहुन्छ भने यो शरीरको लागि पर्याप्त नहुन सक्छ जसले गर्दा रगतको सफाई गर्नको लागि मिर्गौलालाई आवश्यक पर्ने तरल पदार्थको अभाव हुन्छ र रगतमा हुने फोहोर पदार्थ तपाईंकै शरीरमा रहन्छ। यो अवस्था सृजना हुनु मिर्गौलाको लागि एकदमै खराब अवस्था हो।
चिसो पेय पदार्थ– यदि तपाई चिसो पेय पदार्थ पिउनुहुन्छ भने तपाईंले यो बानी त्याग्नुपर्दछ। किनकी यो स्वास्थ्यका लागि अत्यन्त हानिकारक हुन्छ।अत्याधिक कोल्ड ड्रिंक्स पिउनाले शरीरको प्रोटिन पिसाबको माध्यमबाट बाहिर निस्कन्छ। यसको सिधा अर्थ हो तपाईंको मिर्गौलाले काम गर्न छाडिसक्यो।
बढी नुन खानु– शरीरले सहि ढंगले काम गर्न शरीरमा नुनको मात्रा पनि सहि हुनु एकदमै जरुरी छ। यदि हामी फलफूल र सागसब्जी नियमित खान्छौं भने हामीले शरीरको लागि आवश्यक नुन वा सोडियम पर्याप्त मात्रा प्राप्त हुन्छ। यसो हुँदाहुँदै पनि हामी थप नुन भोजनमा खाने गर्दछौं। अत्यधिक मात्रामा नुनले हाम्रो शरीरको रक्तचाप बढाउँछ र मिर्गौलामा अतिरिक्त दबाव दिन्छ। दिनमा ५ ग्रामभन्दा बढी सोडियम वा नुन खानु हुँदैन।
पर्याप्त मात्रामा नसुत्नु– जब तपाई पर्याप्त सुत्नुहुन्छ त्यतिबेला तपाईंको मृगौलाको तन्तुहरुको निर्माण भइरहेको हुन्छ। यसर्थ पनि तपाईले पूरा निन्द्रा सुत्नुपर्छ। यदि तपाई राम्रोसँग सुत्नुभएन भने यसले मिर्गौलालाई सिधै असर गर्दछ र यसमाथि दबाव बढ्छ।
मांसाहार– मासु खानाले तपाईको मिर्गौलाको मेटाबोलिज्ममाथि अधिक दबाव पर्दछ। यदि तपाई आफ्नो खानामा अधिक प्रोटिन लिनुहुन्छ भने, यसको सीधा अर्थ हो तपाईको मिर्गौलाले काम कम गर्दछ। यसबाट भविष्यमा तपाईले ठूलो मूल्य चुक्ता गर्नुपर्ने हुनसक्छ।
मादक पदार्थ सेवन– अत्यधिक मात्रामा र नियमित रक्सी सेवनले तपाईको कलेजो र मिर्गौला दुवैमा एकदमै नराम्रो असर गर्दछ।
भोजनमा मिनरल्स र भिटामिनको कमी– भोजनमा ताजा फलफूल, सागसब्जी समावेश गर्नुपर्दछ। यस्तो भोजन पूरै शरीरको लागि महत्वपूर्ण हुन्छ। किड्नी फेल हुने र पत्थरी हुने अधिक सम्भावना त्यतिबेला हुन्छ जब हाम्रो भोजनमा मिनरल्स तथा भिटामिनको मात्रा कमी हुन्छ। मिर्गौलालाई खतराबाट जोगाउन म्याग्नेसियम र भिटामिन–६ अधिक महत्वपूर्ण हुन्छ।