दैलेख– उमेरले ६६ पुगेका भैरवी गाउँपालिका–१ का कर्णबहादुर कार्कीलाई बुढेसकालमा समेत पानी बोक्नपर्ने समस्या कायमै थियो। यो उनको रहर नभएर बाध्यता थियो। दम रोगले समस्यामा परेका कार्की आफूले छ महिनादेखि नधोएको कोट धुनका लागि पनि ३५ लिटरको जर्किनमा पानी बोकेर घरमा ल्याएको सम्झिएका छन्।
घरभित्रको भान्सा र पानी व्यवस्थापनको काम विशेष गरेर महिलालाई हुने गर्दछ। वडा नं १ डावका महिला, पुरुष र विद्यालय जाने बालबालिकालाई पानीको जोहो गर्नेबारेमा सधैँ पिरलो हुने गर्दथ्यो। बस्तीभन्दा करिब एक घण्टा तल रहेको पानीको मुहान बाट पानी ल्याउन राति नै उठेर लाइन बस्नपर्ने अवस्था थियो। पानी भरेपछि निकै उकालो डाँडाबाट बोकेर पानी लिनपर्ने बाध्यता अहिले हटेको छ। गाउँका ४५ घरका बासिन्दाको दैनिकी अहिले फेरिएको छ। आँगनमै पानी आउला भनेर कल्पना नगरेका स्थानीय शुद्ध पानी गाउँमा आए पनि दङ्ग छन्।
ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना र गाउँपालिकाको सहयोगमा सोलार लिफ्टमार्फत डाँडामा खानेपानी पुगेको हो। स्थानीयको घरमै पानी आएपछि महिला र पुरुषका दुःखका दिन सकिएको वडा नं १ का वडाध्यक्ष काशीराम कार्कीले बताएका छन्। ‘पानी आउला भनेर जनताले सोचेका थिएनन्, अब वडा कार्यालय, शिक्षा र स्वास्थ्यमा समेत खाने पानी पुगेको छ’, कार्कीले भनेका छन्।
करिब चार महिनाअघि गाउँपालिका र ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको सहयोगमा रु ५० लाख लागतमा सोलार लिफ्टमार्फत पानी ल्याउने योजना बन्यो काम शुरु भयो, स्थानीय उपभोक्ता र कामको जिम्मेवारी लिएका निकायको प्रयासपछि अहिले सुख्खा डाँडामा पानी आउन शुरु गरेको छ। अहिले ३४५ मिटर अग्लो स्थानमा सोलारमार्फत पानी पुगेको छ। रातभर आठ हजार लिटर पानी मुहानकै ट्याङ्कीमा जम्मा हुन्छ र दिनभर आठ हजार लिटर पानी सोलारमार्फत गाउँमा पुगेको प्राविधिक सहजकर्ता जङ्ग रावलले जानकारी दिएका छन्।
आधुनिक प्रविधिको प्रयोगले जनतालाई राहत भएको भैरवी गाउँपालिकाका अध्यक्ष प्रेम बुढाले बताएका छन्। वडामा विद्युत् नपुगे पनि सौर्य ऊर्जा जडान गरी योजना सञ्चालन गरिएको छ । विद्यार्थीले भनेको समयमा विद्यालय जान पाएका छन्। महिलाको कार्य बोझ घटेको गाउँपालिकाका उपाध्यक्ष पदमकुमारी विष्टले जानकारी दिएकी छन्।
महिला र बालबालिकालाई निकै समस्या भए पनि अहिले समाधान भएको विष्टले बताएकी छन्। निर्माण भएको योजना दिगो बनाउन स्थानीयको सक्रियता बढ्नुपर्ने ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाका जलस्रोत सल्लाहकार लक्ष्मीचन्द्र महतले जानकारी दिएका छन्। रासस