काठमाडौं – आइतबार सिंहदरबारमा बसेको मन्त्रीपरिषदको बैठकले चन्द्रगिरि नगरपालिकामा रहेको सशस्त्र प्रहरी अस्पताललाई कोरोना विशेष अस्पताल बनाउने निर्णय गरेको छ। अस्पतालमा सेना, प्रहरी र चिकित्सक खटाएर उपचार गर्ने व्यवस्था मिलाउने सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिए। बैठकमा कोरोना न्युनिकरणका लागि थप प्रभावकारी कदम चाल्ने विषयमा छलफल केन्द्रित भएको थियो।
सरकारले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताललाई पनि कोरोना विशेष अस्पताल बनाउने भएको छ। त्यसैअनुसार अस्पतालमा आइसियू, आइसोलेसन र भेन्टिलेटर राख्ने काम भइरहेको छ। अस्पतालका निर्देशक डा. सागरराज भण्डारीका अनुसार अन्य बिरामीलाई त्यहाँबाट वीर र टिचिङ अस्पताल सारिएको छ।
सरकारले भारत र चीनतर्फका सबै सीमा नाका बन्द गर्ने निर्णय पनि गरेको छ। सोमबार बिहान १० बजेबाट नाका बन्द गर्न गृह मन्त्रालयले नाका भएका जिल्लाहरूमा परिपत्र गर्ने तयारी गरेको छ। बैठकले एक साताका लागि भारत र चीनसँगका सबै नाका पनि बन्द गर्ने निर्णय पनि गरेको छ।
मन्त्रिपरिषद बैठकले कोरोना भाइरससँग लड्नलाई विभिन्न उपाय अपनाउन ५० करोड रुपैयाँ राखेर कोष खडा गर्ने निर्णय पनि गरेको छ। सबै मन्त्रीले आफ्नो एक-एक महिनाको तलब उक्त कोषमा राख्ने निर्णय गरिएको छ।