पर्वत — कोरोनाको संक्रमणबाट बच्न नेपाल विद्युत् प्राधिकरण पर्वतले म्यासेन्जरबाटै निवेदन लिने भएको छ। विद्युतको महसुल बुझाउन तथा अन्य प्रयोजनका लागि दिइने निवेदन बुझाउन सेवाग्राही कार्यालयमा उपस्थित हुँदा भिडभाड हुने भएकाले इन्टरनेटको माध्यमबाट सेवा दिन सुरु गरिएको केन्द्रका प्रमुख ललितनारायण चौधरिले जानकारी दिए।
विद्युत् महसुल तिर्न यसअघि पनि अनलाइनको प्रयोग हुने गरेको थियो। केन्द्रमा निवेदन दिनका लागि फेसबुकको प्रयोग गर्न सकिने छ। कुनै निवेदन दिनु परे सेवाग्राहीहरूले निवेदनको फोटो खिचेर विद्युत् प्राधिकरण पर्वत शाखाको फेसबुक पेजमा पठाएपछि कर्मचारीहरूले त्यो निवेदन उपर कारबाही थाल्ने प्रमुख चाौधरीले बताए।
विद्युत् सेवा उपलब्ध नभएमा ग्राहक आइडी र फोन नम्बर, मिटर रिडिङ नभएमा ग्राहक आइडी र मिटरमा उठेको अंक टिपाउन वा म्यासेन्जरमा पठाउन सकिने छ। आफू रहेको ठाउँमा अनलाइन पे भएमा त्यसको प्रयोग गर्न सकिने तथा अनलाइन पे नभएमा कोरोनाको सन्त्रास हटेपछि एकैपटक सबै बिलहरू भुक्तान गर्न सकिने पनि पर्वत वितरण केन्द्रले बताएको छ।