एजेन्सी— साउदी अरबमा सोमबारदेखि २१ दिनसम्म साँझ ७ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु लगाइने भएको छ। प्रधानमन्त्रीसमेत रहेका साउदी राजा सलमान बिन अब्दुल अजिजले कोरोना भाइरस(कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि आंशिक रुपमा कर्फ्युको घोषणा गरेका हुन्। साउदी अरेबियाको आन्तरिक मामिला मन्त्रालयले सैनिक अधिकार र नागरकिलाई कर्फ्युको पालना गर्न गराउन निर्देशन दिएको छ।
केही कामदारको हकमा भने कर्फ्यु लागू नहुने साउदी प्रेस एजेन्सीले जनाएको छ। मुलुकका महत्वपूर्ण सार्वजनिक क्षेत्र र निजी क्षेत्रका कामदारलाई भने नियमित रुपमा काम गर्न दिइने एजेन्सीले जनाएको छ। सुरक्षा क्षेत्र, सेना, सञ्चारमाध्यम, स्वास्थ्य सेवा र अन्य सेवा क्षेत्रका कामदारलाई कर्फ्यु लागू हुने छैन।
साउदी अरबको आन्तरिक मामिला मन्त्रालयले कर्फ्युको अवधिका नागरिकलाई घरमै बस्न आग्रह गरेको छ। अत्यावश्यक अवस्थामा बाहेक बाहिर निस्किएमा कारबाही गरिने पनि मन्त्रालयले जनाएको छ। सोमबार बिहानसम्म साउदी अरबमा ५ सय ११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।