एजेन्सी– कोरोनाभाइरस विश्वभर फैलिँदै गर्दा यसले उत्पन्न गरेको त्रास पनि निकै बढी भएको छ। डरको अनुमान यो घटनाबाट पनि लगाउन सकिन्छ कि एक विमानमा यात्रुले हाच्छ्युँ गरेपछि आत्तिएका पाइलट झ्यालबाट हाम्फालेर भागे। ती पाइलटले विमान ल्याण्ड गर्नासाथ विमानको ककपिटको इमरजेन्सी एक्जिटबाट हाम्फालेर भागेका थिए।
आज तकको समाचार अनुसार एयर एसिया इण्डियाको पुणेबाट दिल्ली आएको विमानमा घटना भएको हो। एयर एसियाको फ्लाइट आइ फाइभ - ७ सय ३२ मा शुक्रबार विमानभित्र कोरोना संदिग्ध व्यक्ति भएको खबर फैलिएपछि उडिरहेका विमानभित्रै हाहाकार मच्चिएको थियो। यही बीचमा एक यात्रुलाई हाच्छ्युँ आएपछि सबै यात्रु त्रसित भएका थिए। खबर ककपिटसम्म पनि पुग्यो।
खबरले आत्तिएका पाइलट इन कमाण्डले विमान ल्याण्ड गर्नासाथ विमानको इमरजेन्सी एक्जिट खोले र त्यहीँबाट हाम्फालेर भागे। सामान्यतया पाइलटले विमानको अगाडिको ढोका नै प्रयोग गर्छन् तर ती पाइलटले अगाडि नै बसेका व्यक्ति संदिग्ध भएको थाहा पाएपछि ककपिटबाटै हाम्फालेका थिए।
ल्याण्डपछि सबै यात्रुलाई पछाडिको ढोकाबाट निकालियो। संदिग्ध व्यक्तिलाई मात्र अगाडिबाट निकालियो। सबै यात्रुको परीक्षण गर्दा सबैको नतिजा भने नेगेटिभ आएको छ। सुरक्षाको लागि विमानलाई छुट्टै राखिएको छ । घटनापछि एयर एसिया इण्डियाका प्रवक्ताले विमानलाई पूरै सफाइ गरिएको बताएका छन्।