काठमाडौं– विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) सँग जुध्न संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) का नेकपा सांसद्हरूले आफ्नो १५ दिनबराबरको पारिश्रमिक सहयोग गर्ने भएका छन्।
नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीको अनुसार सरकारले स्थापना गरेको कोभिड–१९ विशेष कोषमार्फत संघीय संसद्मा प्रतिनिधित्व गर्ने नेकपा सांसद्हरुले १५ दिनबराबरको पारिश्रमिक सहयोग गर्ने निर्णय गरेको हो।
सचेतक चौधरीले यी प्रतिनिधिसभा र राष्ट्रियसभामा नेकपाका क्रमशः १७४ र ५० सांसदको १५ दिनबराबरको पारिश्रमिक विशेष कोषको राष्ट्रिय वाणिज्य बैंकमा रहेको खाता नं. १९६०००००११०१ मा जम्मा गरिने जानकारी दिएकी छिन्।
कोरोनाविरुद्ध लड्न सरकारले सोमबार ५० करोड रुपैयाँको कोरोना कोष खडा गरेको छ। सो कोषमा मन्त्रीहरुले एक महिनाको तलब जम्मा गरेका छन्। त्यस्तै राष्ट्रपतिले दुई महिनाको र उपराष्ट्रपतिले एक महिनाको पारिश्रमिक जम्मा गरेका छन्।
त्यसैगरी एनआरएनए र उद्योगपति वसन्त चौधरीले एक–एक करोड सहयोग गर्ने प्रतिबद्धता गरेका छन् भने अन्य विभिन्न संघ–संस्था तथा व्यक्तिहरूबाट पनि सहयोग गर्ने घोषणा गरेका छन्।