एजेन्सी– कोरोनाभाइरसको प्रकोप पूरै विश्वभर फैलिएको छ। विश्व स्वास्थ्य संगठनले यसलाई विश्वव्यापी महामारी घोषित गरिसकेको छ। नेपालमा पनि आइतबार बेलुकी आएको परीक्षणको नतिजामा १९ वर्षकी एक किशोरी संक्रमित पाइएपछि मंगलबारदेखि पूरै देशलाई लकडाउन गरिएको छ। लकडाउनका क्रममा कुनै पनि किसिमको लापरवाही नगर्न सरकारले अपिल गरिरहेको छ। यो स्थितिमा नेपालीले दक्षिण कोरियाकी ‘सुपर स्प्रेडर’ मानिएकी महिलाको घटनाबाट पाठ सिक्नु जरुरी देखिएको छ।
यी महिलालाई ‘प्यासेन्ट ३१’ वा ‘केस ३१’को नामले चिनिन्छ। यी यस्ती महिला हुन् जसलाई दक्षिण कोरियाका कूल संक्रमितमध्ये ८० प्रतिशत नागरिकलाई संक्रमित गराउनमा जिम्मेवार मानिएको छ। उनी एक्लैले ५ हजार जनामा संक्रमण फैलाएको अनुसन्धानमा पाइएको छ। दक्षिण कोरियाका वैज्ञानिकहरुले गरेको जाँचमा यी महिलाको लापरवाहीका कारण दक्षिण कोरियामा महामारी फैलिएको खुलासा भएको हो।
यी महिला संक्रमित भएपछि सबैभन्दा पहिले बिहानको प्रार्थनाका लागि दक्षिण कोरियाको शेन्चोन्जी चर्चमा गएकी थिइन्। उनी त्यहाँ गएपछि चर्चका १ हजार २ सय जना दस्यमा संक्रमण भेटियो। त्यसपछि यी महिला ६ फेब्रुअरीमा सामान्य दुर्घटनापछि अस्पताल पुगिन्। अस्पतालमा यी महिलालाई हल्का ज्वरो आएको पाइयो तर यो ज्वरोलाई बेवास्ता गरियो। उनलाई अस्पतालबाट घर पठाइयो तर उनी अस्पताल गएपछि त्यो अस्पतालका ११९ जनालाई कोरोनाभाइरसको संक्रमण देखियो।
भाइरस फैलिने क्रम यहीँ रोकिएन। १४ फेब्रुअरी अर्थात भ्यालेन्टाइन डेका दिन ती महिला क्विन वेल होटलमा खाना खान गइन्। यहाँ पनि कैयौं मानिसहरु संक्रमित भए। यस्तै गरी भाइरस पूरै दक्षिण कोरियामा फैलियो र प्रारम्भिक चरणमा थाहा पनि हुन सकेन। दक्षिण कोरियाको राजधानी सोलमा जुन महिला संक्रमित थिइन् समयमै उनी संक्रमित भएको पत्ता लाग्न सकेन। उनी आम मानिसहरुको बीचमा घुलमिल भइरहिन्। वैज्ञानिकका अनुसार ती महिलाले झण्डै ५ हजार मानिसहरुलाई संक्रमित गरेको अनुसन्धानमा पाइएको छ।
यी संक्रमित महिलामा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालमा उनको बेड नम्बर ३१ थियो त्यसैले उनलाई ‘प्यासेन्ट ३१’ वा ‘केस ३१’को नामले चिन्न थालियो।