महोत्तरी– विश्वभर महामारीकाे रुपमा फैलिएकाे कोभिड–१९ बाट जाेगिन छिनछिनमा सेनिटाइजरले हात सफा गर्न चिकित्सकहरुले सुझाव दिइरहेका छन्। तर बजारमा सेनिटाइजर पाइँदैन। बजारमा सेनिटाइजरको उच्च माग भएका बेला महोत्तरी बर्दिबासका स्कुले विद्यार्थीले स्कुलकै प्रयोगशालामा सेनिटाइजर बनाएका छन्।
बर्दिबास–३ गौरीडाँडास्थित जनता माध्यामिक विद्यालयका विद्यार्थीले आफ्नै प्रयोगशालाबाट सेनिटाइजर उत्पादन गरेका हुन्। रशायनशास्त्री गंगाप्रसाद फुँयाल नेतृत्वको विद्यार्थी टोलीले तीन घण्टा लगाएर सेनिटाइजर बनाएका छन्। विद्यार्थीले बनाएको सेनिटाइजर शिक्षक, विद्यार्थी, विद्यालय व्यवस्थान समितिका सदस्यहरुले प्रयोगमा ल्याएका छन्।
सेनिटाइजर बनाउने कार्यमा विज्ञान संकाय कक्षा १२ का विद्यार्थीहरु अम्बिका दाहाल, शिशिर भण्डारी, मञ्जिता विष्ट र निलिफा रम्तेल सहभागी थिए। विद्यार्थीहरुलाई विद्यालयका शिक्षक तथा रशायनशास्त्री फुँयाल र विद्यालय ल्याब इन्चार्ज तथा विज्ञान शिक्षक अखिलेश यादवले सहजीकरण गरेका थिए। विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डअनुसार नै सेनिटाइजर बनाएको रशानयशास्त्री फुँयालले दाबी गरेका छन्।
सेनेटाइजरमा छालालाई नरम, पोषणयुक्त बनाउन गाउँमा पाइने घ्यूकुमारीको झोल प्रयोग गरिएको छ। यसलाई इथानोलसँग ३०ः१ को अनुपातमा मिश्रण गरिएको छ। बजारमा पाइनेभन्दा विद्यालयमा बनाइएको सेनिटाइजर गुणस्तरीय रहेको उनीहरुको दाबी छ।
‘विद्यार्थीले उत्पादन गरेको सेनेटाइजर बजारमा पाइँदैन। सेनिटाइजर किन्न भौतारिनु परेको अवस्थामा विद्यालयले सेनिटाइजर बाँड्ने सुनेर खुशी लागेको छ,’ बर्दिबास नगरपालिका ३ का वडाअध्यक्ष राजन ढुङ्गानाले भने। यसलाई बजारमा कसरी लैजाने भन्नेबारे औषधी व्यवस्था विभागका महानिर्देशक नारायण ढाकालसँग जानकारी लिइएको वडाअध्यक्ष ढुंगानाले बताए।
‘बजारमा बिक्री गर्न पठाउनलाई प्रक्रिया पूरा गर्नु पर्ने हुन्छ। तर, तत्काल कोरोना भाइरससँग नागरिकलाई बचाउन गाउँस्तरमा सेनिटाइजर सेवाको हिसाबले बाँड्न सकिने जानकारी आएको छ,’ औषधी व्यवस्था विभागका महानिर्देशकको भनाइ उद्धृत गर्दै ढुंगानाले जनाकारी दिए।
विद्यालय व्यवस्थान समितिका अध्यक्ष नरबहादुर खनालले विद्यालयले बनाएको सेनिटाइजर गाउँले र विद्यार्थीलाई वितरण गरेर कोरोना भाइरसबाट बचाउन सचेतनामुलक अभियानमा जुट्ने बताए।
अनुसन्धान र अविष्कारमा हाम्रो विद्यार्थी र शिक्षकहरु योग्य रहेको विद्यालयका प्रधानाध्यापक दिपकराज बरालले बताए। विद्यालय व्यवस्थान समितिको अनुमतिमा विदामा रहेका शिक्षक र विद्यार्थी प्रोजेक्टमा खटिएका थिए।