भरतपुर– चितवनको भरतपुरस्थित कोरोना विशेष (अस्थायी) अस्पतालमा उपचारका क्रममा मृत्यु भएका युवकको कोरोना भाइरसका कारण मृत्यु नभएको पुष्टि भएको छ। उच्च ज्वरो र निमोनियाको लक्षण देखिएर आइतबार राति अस्पताल भर्ना भएका वीरगन्जका ३० वर्षीय सन्तोष यादवलाई पहिलेदेखि नै लुपस नामक रोग रहेको पाइएको अस्पतालले जनाएकाे छ ।
उनको उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको हो। भरतपुर कोरोना विशेष अस्पतालले विज्ञप्ती जारी गर्दै लुपस नामक राेगका कारण यादवका दुवै मिर्गौला कमजोर भइसकेको जानकारी दिएको छ।
कोरोना भाइरस (कोभिड–१९)को संक्रमणकाे आशंकामा आइसोलेसनमा राखिएका उनको स्वाव संकलन गरी परीक्षणका लागि काठमाडौंस्थित केन्द्रीय प्रयोगशाला पठाएको थियो। तर, उनको रिपोर्ट भने आइसकेको छैन।
कोरोना परीक्षणको रिपोर्ट नआएका कारण मृतक यादवको शव हाल विशेष अस्पतालको आइसोलेसन वार्डमा नै राखिएको अस्पतालका प्रवक्ता डा. भोजराज अधिकारीले जानकारी दिए।