काठमाडौं– हरेक वर्षको चैत्र कृष्णपक्षको औंसीका दिन मनाइने घोडे जात्रा पर्व नेपाली सेनाले स्थगित गरेको छ। विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमलाई रोक्ने लक्ष्यले घोडे जात्राको समारोह स्थगित गरिएको हो।
काठमाडौं उपत्यकामा मनाइने ऐतिहासिक पर्वको रुपमा रहेको घोडेजात्राको दिन नेपाली सेनाले विशेष समारोह आयोजना गर्ने गर्छ। तर, यस वर्ष सरकारले कोरोना भाइरस संक्रमणको जोखिम कम गर्ने भन्दै मंगलबारदेखि नै देश नै ‘लकडाउन’ जारी गरेको छ।
सेनाले यसअघि औपचारिकता पूरा गर्ने उद्देश्यले सीमित मात्रै व्यक्तिको उपस्थितिमा घोडेजात्रा समारोह सम्पन्न गर्ने तयारी गरेको थियो। तर, सरकारले देशव्यापी निषेधाज्ञा जारी गरेपछि समारोह नै स्थगित गरिएको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ।