कैलाली– कैलालीको गौरीफन्टा नाकामा अलपत्र परेका नेपाली नागरिकलाई नेपाल प्रवेश गर्न दिने सरकारले निर्णय गरेको छ। कोरोना भाइरस (कोभिड १९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको काठमाडौंमा बसेको बैठकले सिमानामा अड्किएका नेपाली नागरिकलाई नेपाल प्रवेश गर्न दिने निर्णय हो।
कोरोना भाइरको त्रासका कारण भारतको विभिन्न स्थानबाट करिब ६ सय नेपालीलाई सीमा नाका बन्द भइसकेको भन्दै प्रवेश अनुमति दिइएको थिएन। सयौंको संख्यामा रहेका उनीहरुले प्रवेश अनुमति पाउनु पर्ने माग गर्दै मंगलबार बिहानैदेखि सरकारविरुद्ध नाराबाजी गरिरहेका थिए।
उनीहरुको माग अनुसार आजै जिल्ला प्रशासन कार्यालय कैलालीले प्रदेश र संघीय सरकारलाई आग्रह गरेपछि नाकामा अलपत्र परेका नेपालीलाई नेपाल प्रवेश गर्न अनुमति दिनेगरी निर्णय भएको हो। जिल्ला प्रशासन कार्यालय कैलालीको अनुसार सीमा नाकामा रहेका नेपालीहरुको विवरण संकलन र स्वस्थ्य परीक्षण गरी नेपाल प्रवेश गराइने छ।
सरकारका प्रवक्ता युवराज खतिवडाले कोरोना संक्रणपछि भारतबाट आई सीमा नाकामा रहेका नेपालीहरुलाई आजका लागि मात्रै नेपाल प्रवेशको अनुमति दिने निर्णय भएको जानकारी दिए।
नेपाल प्रवेश अनुमति पाएपनि उनीहरु क्वारेनटाइनमा अनिवार्य रुपमा १४ दिनसम्म बस्नुपर्ने छ।