काठमाडाैं- लकडाउनको दोस्रो दिन बुधबार काठमाडौं सुनशान देखिन्छ । सडकमा अत्यावस्यक बाहेक अन्य सवारी साधन खासै चलेका छैनन् । फाट्टफुट्ट मोटरसाइकलहरु देखिन्छन् ।
काठमाडौंको बबरमहलस्थित जिल्ला प्रशासन कार्यायलयको मुल ढोका बाहिर भने मानिसहरुको भिड लागेको छ । ती सबै मानिसहरु विभिन्न प्रयोजनका लागि भनेर अनुमती पास लिन आएका हुन् ।
सरकारले लकडाउनका समयमा अत्यावस्यक बाहेक अनुमती प्राप्त सवारी साधनमात्र संचालन गर्न पाउने व्यवस्था गरेपछि विभिन्न पेशा ब्यवसायमा संलग्न मानिसहरु पास लिन जम्मा भएका हुन् ।
पास लिन आएकाहरुलाई जिल्ला प्रशासन कार्यालय भित्र प्रवेश दिईएको छैन । उनीहरुलाई ढोका बाहिरै राखेर कार्यालयका प्रतिनिधिले उनीहरुको निवेदन र आवस्यक कागजात भित्र लिएर जाने गर्छन् । कार्यालयका जिम्मेवार व्यक्तिले निवेदन हेरेर अनुमती पासका लागि स्वीकृति गरेपछि ढोकाभित्रैबाट चिच्याएर नाम बोलाईन्छ र अनुमती पास प्रदान गरिंदै आएको छ ।
भिडलाई व्यवस्थित गरिएको छैन । १ सय जना भन्दा बढिको संख्यामा बाहिर जम्मा भएका मानिसहरु त्रषित देखिन्छन् । सुरक्षाकर्मी राखेर भिडलाई व्यवस्थित गरिदिए संक्रमणको खतरा कम हुने उनीहरु बताउँछन् ।