१.मजदुर र गरिबलाई उपभोग्य वस्तु उपलब्ध गराउन समाजवादी पार्टीका सांसदको सरकारसँग माग
समाजवादी पार्टीका सांसद प्रदीप यादवले ज्यालादारीका कामदारलाई दैनिक उपभोग्य वस्तु उपलब्ध गराउन सरकारसँग माग गरेका छन्। समाजवादी पार्टीका सांसद प्रदीप यादवले बिहीबार एक प्रेस विज्ञप्ति जारि गर्दै (कोभिड–१९) नियन्त्रणका लागि तिनै तहको सरकारको भूमिका आवश्यक रहेको बताएका छन्। उनले प्रदेश नं. २ मा कोरोना संक्रमणलाई रोक्न स्थानिय सरकार तथा जनप्रतिनिहरुको सक्रियता र सहयोगमा प्रभावकारी क्वारेन्टाइन केन्द्रहरुको स्थापना गर्न संघीय सरकार र प्रदेश सरकारसँग माग गरेका छन्।
२.कालो बजारी गर्ने वीरगञ्जका तीन पसलमा छापा
लकडाउनको मौकाछोपी कृत्रिम मूल्य सिर्जना गरेर कालोबजारी गर्ने वीरगञ्ज मीना बजारका तीन पसलमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साले छापा मारी जरिवाना तिराएको छ। सो कार्यालयका प्रमुख जीतबहादुर भण्डारीको नेतृत्वमा गएको टोलीले आज अपराह्न भरत इन्टरप्राइजेज, सिद्धार्थ सब्जी भण्डार तथा सुरेश मेडिकल पसलमा छापा मार्दा ती पसलले कृत्रिम मूल्य सिर्जना गरी कालोबजारी गरिरहेको पाइएकाले जरिवाना तिराएको सो कार्यालयले जनाएको छ।
३. एनआरएन कोरियाले कोरोना पत्ता लगाउने दुई हजार किट्स नेपाललाई दिने
गैरआवासीय नेपाली संघ दक्षिण कोरियाले कोभिड-१९ कोरोना भाइरस संक्रमण भए/नभएको जाँच गर्न प्रयोग हुने दुई हजार किट्स नेपाल सरकारलाई तत्काल सहयोग गर्ने भएको छ। योजनानुरुप किट्स प्रदान गर्ने कम्पनी डोगेनसँग पनि दुई हजार प्रति किट्सको सम्झौता भएको एनआरएन कोरियाले जनाएको छ। सोका लागि एनआरएन कोरियाले यहाँ रहेका नेपालीसँग सहयोग संकलन अभियानसमेत थालेको छ।
४. जहाजको प्रतिक्षामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल
कोभिड—१९ को जोखिम नियन्त्रणका लागि सरकारले देशभर लकडाउन गरेको आज तेस्रो दिन त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल शून्य अप्रेशनमा छ। अहिलेसम्म हेलिकप्टरको उद्धार (एकरदुई वटा मात्रै उडान) उडानबाहेक कुनै पनि उडान भएको छैन। चीनबाट सामग्रीसहित जहाज आउने जनाइए पनि अहिलेसम्म कुनै पनि जानकारी नआएको विमानस्थलले जनाएको छ। विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले विमानस्थलमा हेलिकप्टरको उद्धार उडानबाहेक अहिलेसम्म कुनै पनि उडान नभएको र विमानस्थल सुनसान प्रायः रहेको बताए।
५.भारतद्वारा १ लाख ७० हजार करोड भारुको सहायता प्याकेज घोषणा
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को संक्रमणको जोखिमको रोकथाम तथा न्युनिकरणको लागि गरिएको लकडाउनले बढी प्रभावित मुलुकको अर्थतन्त्र सुधारको लागि १ लाख ७० हजार करोड भारतीय रुपैयाँको सहायता कोष घोषणा गरेको छ। भारतीय वित्तमन्त्री निर्मला सीतारमणले बिहिबार खासगरी आप्रवासी कामदार र दैनिक ज्याला मजदुरी गरी खानेहरुलाई लक्षित गरी उक्त सहायता प्याकेज सार्वजनिक गरेकी हुन्।
६. कोरोनाभाइरसका कारण चीनभन्दा स्पेनमा धेरै मानिसको मृत्यु
कोरोनाभाइरस सङ्क्रमणका कारण स्पेनमा मर्नेहरूको सङ्ख्या चीनको भन्दा धेरै पुगेको छ। त्यहाँ बितेको एक दिनमा थप ७३८ जना सहित कुल ३४ सय मानिसले कोभिड–१९ का कारण ज्यान गुमाएका छन्। चीनको भन्दा त्यो १५० जनाले धेरै हो। चीनमा ८१ हजारमा सङ्क्रमण फैलिएपनि ज्यान गुमाउनेको सङ्ख्या ३२ सयभन्दा केही बढी बताइएको छ।उक्त रोगबाट सबभन्दा धेरै इटलीमा मरेका छन्। त्यहाँ सात हजारभन्दा धेरै मानिसले ज्यान गुमाएका छन्।
७. लकडाउन प्रभाव : कञ्चनपुरका सबै पत्रपत्रिका प्रकाशन बन्द
कोभिड १९ (कोरोना भाइरस) को सम्भावित जोखिमलाई विशेष ख्याल गर्दै देशव्यापि ‘लकडाउन’ भएपछि कञ्चनपुरबाट प्रकाशित हुने पत्रपत्रिकाको प्रकाशन बन्द भएका छन्। छापाखानामा काम गर्ने कामदार तथा पत्रपत्रिका ग्राहककहाँ पुर्याउन समस्या भएपछि प्रकाशन बन्द गरिएकोे जनाइएको छ। गत आइतबारदेखि जिल्लामा पत्रपत्रिका प्रकाशन भएका छैनन्।
८. मेलम्चीका सबै योजना ठप्प, दशैंअघि काठमाडौंमा पानी आउन नसक्ने
कोरोना भाइरस (कोभिड १९) संक्रमण फैलन नदिन सरकारले देशभर ‘लकडाउन’ गरेपछि बहुचर्चित मेलम्ची खानेपानीलगायत सिन्धुपाल्चोकमा सञ्चालित सबै योजनाका काम ठप्प भएका छन्। ‘राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनामा समेत कोरोनाको प्रत्यक्ष प्रभाव परेको छ,’ मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले भने, ‘देशभर लकडाउन भएपछि हामीले आयोजनामा भइरहेका सबै काम रोकेका छौँ।’एक साताअघि मात्रै खानेपानीमन्त्री बिना मगरको उपस्थितीमा मेलम्ची खानेपानी आयोजना सुरुङमा पानी हालेर पहिलो परीक्षण सम्पन्न भएको थियो