काठमाडौं – कोरोना भाइरसको सम्भावित संक्रमण रोक्न सरकारले मुलुकभर १ हप्ता लकडाउन गरेपछि ठूला पूर्वाधार निर्माणमा प्रत्यक्ष प्रभाव परेको छ। कोरोना भाइरसका कारण यसअघि नै पूर्वाधार निर्माणका कामहरू प्रभावित भएका थिए। केही आयोजनामा भने काम भइरहेको सम्बद्ध आयोजना प्रमुखहरू बताउँछन्। तर, अधिकांश आयोजना प्रमुखहरू अहिले लकडाउन खुल्ने समयसम्मका लागि ‘पर्ख र हेरको’ अवस्थामा छन्।
कोरोना भाइरस र लकडाउनका कारण नेपालको पहिलो सडक सुरूङमार्गका रूपमा परिचित नागढुंगा—नौबीसे सुरूङमार्ग, भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल, नारायणगढ—बुटवल सडक खण्ड चौडा गर्ने काम पनि प्रभावित भएको छ। त्यस्तै, भारतीय लगानीको अरूण तेस्रो जलविद्युत् आयोजनाको काम पनि बन्द छ।
लकडाउनको अवस्थामा पनि आयोजना तथा निर्माणाधीन स्थलभित्रै रहेका कामदारबाट केही आयोजनामा भने काम भइरहेको छ। तिनमा पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल, मेलम्ची खानेपानी आयोजना पर्छन्। त्यस्तै, हुलाकी राजमार्ग तथा नारायणगढ–बुटवल सडक खण्ड विस्तार आयोजनामा प्रक्रियागत कामहरू छिटफूट रूपमा भइरहेका छन्। यो समाचार आजको आर्थिक अभियान दैनिकमा हिमा वि.क.ले लेखेकी छन्।