एजेन्सी– संयुक्त राज्य अमेरिका विश्वका सबै मुलुकहरु भन्दा बढी कोरोना भाइरस संक्रमित हुने मुलुक बनेको छ। चीनको वुहानबाट शुरु भएको यो भाइरसको संक्रमण अमेरिकामा प्रवेश भएको धेरै समय नभए पनि यसको फैलावट भने अत्याधिक छिटो गतिले भएको छ।
तथ्यांकअनुसार, मार्च २६ तारिक विहीबार अपरान्हसम्ममा कोरोना भाइरसबाट संक्रमित अमेरिकीहरुको संख्या ८३ हजार ६ सय ७२ पुगेको छ। जुन चीनको भन्दा २ हजार ३ सय ८७ जनाले बढी हो। चीनमा आजसम्म संक्रमितको संख्या ८१ हजार ३ सय ४० छ। नयां संक्रमणको दरका हिसाबले अमेरिकामा यो भाइरस यति छिटो फैलिएको छ कि २७ तारिक सम्ममा १ हजार ९ सय १२ नयां केसहरु थपिएका छन्। न्यूयोर्क शहर अमेरिकामा सबैभन्दा बढी संक्रमित भएको शहर हो।
चीनमा भने संक्रमणको दर निकै कम हुँदै गैरहेको छ। अमेरिकी संचारमाध्यमहरुका अनुसार, आजसम्म १३ सय जनाले यो संक्रमणका कारण अमेरिकामा ज्यान गुमाइसकेका छन् भने सबैजसो राज्यहरुमा यो भाइरसको संक्रमण फैलिइसकेको छ।
भाइरस संक्रमणका कारण सबै भन्दा बढी ज्यान गुमाउनेहरुमा इटालीको संख्या धेरै रहेको छ। जहाँ ८ हजार २ सय १५ जनाले ज्यान गुमाएका छन् त्यस्तै स्पेनमा पनि ४ हजार ३ सय ६५ जनाको मृत्यु भइसकेको छ। चीनमा भने हालसम्म ३ हजार २ सय ९२ ले ज्यान गुमाएका छन्।