काठमाडौं- बूढानीलकण्ठ नगरपालिका–७ मा रहेको छहारी संस्थाले आफ्नो भवन तथा आफूसँग रहेको ५० शैया क्वारेन्टाइनका लागि प्रदान गरेको छ। एकल महिलासँग सम्बन्धित उक्त संस्थाले कोरोना भाइरसका बिरामीका लागि आफ्नो भवन र ५० शैया क्वारेन्टाइनका लागि दिएको नगरप्रमुख उद्धवप्रसाद खरेलले बताएका छन्।
छहारीले ५० शैया सहितको भवन उपलब्ध गराएसँगै नगरपालिकामा कोरोना भाइरसका सम्भावित बिरामीलाई क्वारेन्टाइनमा राख्न सकिने भएको छ। आवश्यक परे नगरपालिकाका स्वास्थ्यकर्मी परिचालन गरी स्वास्थ्य परीक्षण गरिने पनि बताइएको छ।
नगरपालिकाले नगरको सात स्थानमा सहायता कक्ष स्थापना गरेको छ। कोरोनाको प्रभाव फैलन नदिन खटिने स्वास्थ्यकर्मीका लागि आवश्यक सामग्री तयारी अवस्थामा राखिएको नगरपालिकाले जनाएको छ। यसका साथै वडा कार्यालय तथा स्वास्थ्य चौकी र क्वारेन्टाइनस्थललाई भाइरस सङ्क्रमणबाट बचाउन डिसइन्फेक्ट गर्ने काम पनि शुरु गरिएको बताइएको छ। रासस