पर्सा- प्रतिनिधिसभा सांसद प्रदीप यादवले कोरोना भाईरस (कोभिड १९) काे उपचारमा खटिएका स्वास्थ्यकर्मी, नर्स तथा चिकित्सकहरुको सुरक्षाको ग्यारेण्टी गर्न सरकारसँग माग गरेका छन्।
समाजवादी पार्टीबाट प्रतिनिधिसभामा पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद यादवले शुक्रबार विज्ञप्ति जारि गर्दै कोरोना (कोभिड–१९) भाइरसको महामारीले गर्दा बिश्वब्यापी रूपमा उत्पन्न भएको मानवीय संकटको संवेदशील घडीमा आम मानिसको स्वास्थ्यका लागि देशभर खटिएका डाक्टर, नर्स र स्वास्थ्यकर्मीको सुरक्षाका सवालमा गम्भिर हुन संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार र सम्बन्धीत सबै निकायको ध्यानाकर्षण गराएका छन् ।
सांसद यादवले कोरोना भाइरसकाे उपचारमा खटिएका डाक्टर र अन्य स्वास्थ्यकर्मीहरुको ५० लाख बराबरको जीवन विमा गराउन समेत माग गरेका छन्। विज्ञप्तीमा विश्व स्वास्थ्य संगठनले सिफारिस गरे अनुसारको सुरक्षित पहिरन उपलब्ध गराउन समेत सरकारसँग माग गरिएकाे छ ।
सरकारले शहरका ठुला अस्पतालदेखि गाउँका स्वास्थ्य संस्थाहरुसम्म मास्क, स्यानिटाइजर र सुरक्षित पोषाकहरु उपलब्ध गराउनु पर्ने भन्दै उनले डाक्टर तथा स्वास्थ्यकर्मीहरुले चिन्तामुक्त भएर काम गर्ने वातावरण सृजना गर्न सरकारलाइ आग्रह गरेका छन्। त्यसका लागि उनिहरुको घरमै दैनिक उपभोग्य वस्तुको आपुर्ती सुनिश्चित गरिनुपर्ने उनकाे सुझाव छ ।
समाजवादी पार्टीका केन्द्रिय सदस्य समेत रहेका सांसद यादवले डाक्टर र स्वास्थ्यकर्मीहरुसंग अप्रिय ब्यवहार गर्ने व्यक्तिलाई दण्ड दिनुपर्ने जनाएका छन्। चिकित्सक र स्वास्थ्यकर्मीहरुको मनोबल बढाउन यस्ता निर्णय आवश्यक रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ। साँथै उनले नीजि अस्पतालमा रहेको जनशक्ति, संरचना र साधनहरुको यस घडिमा सदुपयोगको लागि अबिलम्ब नीतिगत निर्णय गर्न सरकारसंग माग गरेका छन्।