काठमाडौं - सरकारले लकडाउनकाे अवधिमा नेपालमा रोकिएका विदेशी नागरिकको उद्धार गरी स्वदेश फर्काउने काम शुरु गरेकाे छ । विभिन्न मुलुकका नेपालस्थित दूतावासले आफ्ना देशका नागरिक फर्काउने चासाे देखाएपछि परराष्ट्र मन्त्रालयसँगको समन्वयमा स्वदेश फर्काउने काम शुरु भएकाे हाे ।
कोभिड–१९ को संक्रमण फैलन नदिन सरकारले चैत ११ देखि १८ गतेसम्म देशभर लकडाउन गरेपछि नेपाल भ्रमणमा रहेका पर्यटक यतै राेकिएका थिए ।
शुक्रबार कतार एयरको चार्टर्ड उडानबाट फ्रान्ससहित युरोपका ३ सय ४ नागरिक स्वदेश फर्किए । शनिबार पनि कतार एयरवेजको दुई उडानबाट विभिन्न मुलुकका नागरिक स्वदेश फर्कदैंछन् । नेपालमा झण्डै १० हजार पर्यटकले प्रवेशाज्ञा थपेर बसेका छन्।
कतिपय पर्यटक भने विभिन्न पर्यटकीय गन्तव्यमा रोकिएका छन्। लुक्ला, जोमसोम, पोखरालगायत गन्तव्यबाट पर्यटकलाई जहाजबाट उद्धार गरी काठमाडौँ ल्याएर सम्बन्धित मुलुकमा पठाउने काम भइरहेको छ। नेपाल पर्यटन बोर्डले विभिन्न स्थानमा रहेका पर्यटकको संख्या यकिन गरी खोजी तथा उद्धार कार्यमा तिब्रता दिएकाे छ ।
बोर्डले शुक्रबार सूचना जारी गरी कुन मुलुकका नागरिक कुन स्थानमा छन् भन्ने विवरण उपलब्ध गराइदिन अनुरोध गरेको थियो। बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीले नेपालमा रोकिएका पर्यटकको उद्धार गरी उनीहरुको मुलुक फर्काउने कार्य धमाधम भइरहेको जानकारी दिएका छन्। उनका अनुसार नेपालका विभिन्न गन्तव्यबाट अहिले ५ सय २६ पर्यटकको उद्धार गर्नुपर्नेछ। तीमध्ये २ सय २६ जनाको शुक्रबार उद्धार गरिएको छ।
आज (शनिबार) माउण्टेन उडानमार्फत सय जनाको उद्धार गरी काठमाडौँ ल्याइनेछ। यस्तै पोखरामा रोकिएका तिन सय तथा जोमसोमबाट ६० जना पर्यटकलाई काठमाडौँ ल्याइनेछ। नेपालमा कति सङ्ख्यामा पर्यटक रोकिएका छन् भन्ने विवरण शनिबार साँझसम्म आउने पर्यटन बोर्डले जनाएको छ।