बुटवल- काेराेना संक्रमणकाे आशंकामा बुटवलस्थित कोरोना विशेष अस्पताल भर्ना गरिएका ३४ वर्षीय व्यक्तिको आज (आइतबार) मृत्यु भएको छ।
उनको स्वाब कोरोना सङ्क्रमण परीक्षणका लागि आइतबार केन्द्रीय प्रयोगशाला काठमाडाैं पठाइएको थियाे । स्वास परिक्षणकाे रिपोर्ट नआएसम्म मृत्युको कारण पुष्टि गर्न नसकिने लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले बताए।
वैदेशिक रोजगारीका लागि विदेशमा रहेका उनी यही चैत ६ गते स्वदेश फर्किएका थिए । घर फर्किंदाकोे अवस्थामा नै सामान्य ज्वरो आएकाले एक हप्तासम्म घरमै आराम गरी बसेका थिए ।
एक हप्तासम्म पनि ज्वरो निकाे नभएपछि उनी शुक्रबार लुम्बिनी प्रादेशिक अस्पतालमा स्वास्थ्य जाँचका लागि आएका थिए ।चिकित्सकको सल्लाहअनुसार उनलाई प्रादेशिक अस्पतालको आइसोलेशनमा भर्ना गरी स्वाब परीक्षणका लागि केन्द्रीय प्रयोगशालामा पठाइएको लुम्बिनी प्रादेशिक अस्पतालका ‘फोकलपर्सन’ वरिष्ठ फिजिसियन डा. सुदर्शन थापाले बताए।
स्वाब परिक्षणको रिपोर्ट नआएसम्म मृतकका परिवारलाइ पनि क्वारेन्टाइनमा राख्ने व्यवस्था गरिने डा. खनालले जानकारी दिए ।