एजेन्सी – बलिउड सुपरस्टार सलमान खान मनकारी अभिनेताका रुपमा चिनिन्छन्। विईगं ह्यूमन फाउण्डेसन नै खोलेर सामाजिक कार्यहरु गर्दै आएका उनले आफ्नो महानता फेरी एकपटक पुष्टि गरेका छन्।
कोरोनाभाइरस को प्रकोपका कारण अहिले विश्वका लगभग सबै राष्ट्रको अवस्था डामाडोल छ। भारत पनि यसबाट नराम्ररी प्रभावित भएको छ। ‘लकडाउन’का कारण त्यहाको जनजिवन कष्टकर बनेको छ। गरिव, असहाय र मजदुरहरुलाई हातमुख जोर्न नै धौ–धौ भइरहेको अवस्थामा सुपरस्टार सलमानले भारतीय फिल्म क्षेत्रका हजारौ मजदुरहरुलाई सहयोग गरेका छन्।
उनले २५ हजार सिने मजदुरहरुलाई ३७ करोड ५० लाख रुपैयाँ (भारतिय रुपैयाँ) हाराहारी नगद सहयोग गरेका हुन्। पश्चिम भारतिय सिने कर्मचारी संघका अध्यक्ष बिएन तिवारीको भनाई उद्घृत गर्दै एक भारतिय पत्रिकाले लेखेको छ, ‘‘हामीले सलमान खानसँग सम्पर्क गरेपछि उनले हामीलाई हाम्रो संघमा सबैभन्दा बढी प्रभावित कामदारहरूको संख्या दिन आग्रह गरे र हामीले उनलाई २५ हजार सिने मजदुरहरुहरू प्रभावित भएको बतायौं।’’
पछिल्लो १० दिनदेखी सिने क्षेत्रमा काम गर्ने दैनिक ज्यालादारीका मजदुरहरुको सहयोगको लागि अपिल भईरहेको थियो। यस्तोमा धेरैले सलमानबाट आशा राखेका थिए, जसमा उनी खरो उत्रिएका छन्।
यसैविच एक सञ्चारमाध्यमसँग कुरा गर्दै सलमानका पिता तथा दिग्गज लेखक सलीम खानले भनेका छन्, ‘‘म यसमा केहि प्रतिक्रिया दिन चाँहदिन, किनभने यसबारेमा मलाई धेरै थाहा छैन्, तर हाम्रो परिवारको यो उद्देश्य हो की हाम्रो पैसा जहाँ जाओस देखिनुपर्छ र कसैको काम लाग्नुपर्छ।’’
सलमानले यसबाहेक पनि हरेक महिना ५ लाख (भारतिय रुपैयाँ) को हाराहारीमा सिने क्षेत्रका मजदुरहरुको स्वास्थ्यको लागि सहयोग गर्दै आएका छन् भने विईगं ह्यूमन फाउण्डेशन मार्फत वर्षेनी करौडौ रुपैयाँ च्यारीटि गर्दै आएका छन्।