काठमाडौं – सरकारले ‘लकडाउन’को समयमा ‘पास’ लिने निकायहरु विस्तार गरेको छ। यसअघि जिल्ला प्रशासन कार्यालयबाट मात्रै वितरण गरिदैँ आएको पास अब थप ३ निकायले पनि उपलव्ध गराउनेछन्।
लकडाउनको समय बढेपछि अत्यावश्यक काम परेको खण्डमा अब अन्य निकायहरुबाट पनि पास लिन सकिने छ। खाद्यवस्तुलगायत अत्यावश्यक दैनिक उपभोग्य वस्तुको आपूर्ति गर्ने निकाय र संघ संस्थालाई अब वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पास दिने छ।
त्यस्तै बैंक तथा वित्तीय संस्थाहरुलाई नेपाल राष्ट्र बैंकले र सरकारी कर्मचारीले प्रयोग गर्ने सवारी साधनको पास संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दिने पनि जिल्ला प्रशासन कार्यालय काठमाडौंले जानकारी दिएको छ।
यसबाहेक अन्य आकस्मिक प्रयोजनका लागि आवश्यक पर्ने सवारी पास मात्रै प्रशासन कार्यालयले दिने सूचना जारी गरेको छ।