भैरहवा - नेपाल भारत सीमा क्षेत्र सुनौलीमा लगभग तीन सय नेपाली अलपत्र परेका छन्। भारतका विभिन्न क्षेत्रमा रोजगार तथा अध्ययन गर्न गएका नेपाली स्वदेश फर्कने क्रममा ३० घण्टादेखि दशगजा क्षेत्रमा अलपत्र परेका हुन्।
कोभिड –१९ को त्रास बढ्दै गएपछि दुवै देशले मानिसहरुकाे आवत जावतमा राेक लगाएकाे जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएकाे छ । जसका कारण दुवै देशका नागरिक स्वदेश फर्कन पाइरहेका छैनन् ।
नेपाली पक्षले भारतबाट आउने नेपालीलाई रोक लगाएपछि लगभग तीन सय नेपाली अहिले दशगजा क्षेत्रमा पाल टाँगेर बसेका छन्। उनिहरुलाई सोमबारदेखि स्थानीयवासीले खाना ख्वाउने व्यवस्था गरेका छन् । नेपालतर्फ आउन नपाएपछि उनीहरुले दशगजा क्षेत्रमै सोमबार केही समय नाराबाजीसमेत गरेका थिए।
लगभग ६० जना भारतीय पनि भारततर्फ जान नपाएर नेपालको सीमाक्षेत्र बेलहियामा रोकिएका छन्। सीमाक्षेत्रमा रोकिएका नेपालीलाई के गर्ने भन्ने विषयमा छलफल भइरहेको जिल्ला प्रशासन प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकारी जनक थापाले सरकारले दिएकाे निर्देशन आफूहरुले कार्यान्वयन गरेकाे बताए । उनले भने, "माथिबाट जे आदेश आउँछ त्यहीअनुसार नेपालतर्फ आउने नेपालीको व्यवस्थापन गरिनेछ ।" सशस्त्र प्रहरी बल नेपाल राजस्व भन्सार नम्बर ३८ गुल्म रुपन्देहीका प्रमुख समेत रहेका सशस्त्र प्रहरी नायब उपरीक्षक मानबहादुर शाहीले दुवै देशका नागिरक राेकिएकाे अवस्ठालाइ मध्यनजर गरी सीमाक्षेत्रमा सुरक्षा कडा पारिएको जानकारी दिए।
रासस