काठमाडौं – वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट पास वीतरण कार्य ढिलो भएको भन्दै सेवाग्राही आक्रोशीत बनेका छन्। आज पहिलो दिन नै पासको अभाव देखिएको थियो। पास लिनको लागि सेवाग्राहीहरु बिहानैबाट विभागको कार्यालय बबरमहलमा पुगेको भएपनि अपरान्ह ४ बजेसम्म पनि पास वीतरण कार्य शुरु भएको थिएन्।
‘‘हामीले पासको लागि बिहानै निवेदन दिएका थियौँ’’, एक व्यवसायी सुरज केसीले भने, ‘‘पास नै आएको छैन् भन्ने जवाफ आईरह्यो।’’ जिल्ला प्रशासन कार्यालयबाट नै पास नआएको भन्दै पास वितरण नगरिएको उनले बताए।
‘‘अत्यावश्यक सामानको ढुवानीको लागि पास लिन आएको हो’’, पास लिन वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग बबरमहल पुगेका अर्का एक व्यवसायीले भने, ‘‘आमजनतालाई दैनीक उपभोगका लागि चाहिने सामान पुर्याउन पनि नपाईने भयो।’’ पास वीतरण गर्ने शैली निकै अव्यवस्थित भएको भन्दै उनले आक्रोश समेत व्यक्त गरे।
यता विभागका कर्मचारीहरुले भने जिल्ला प्रशासन कार्यालयबाट नै पास नआएका कारण समयमा वितरण गर्न नसकिएको बताएका छन्। ‘‘बल्ल पास आईपुग्यो अब केहिबेरमा वीतरण शुरु हुन्छ होला’’, उनले भने।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार एक सुचना जारी गरी जिल्ला प्रशासन कार्यालयबाहेक अन्य ३ निकायबाट पास पाउने जानकारी गराएको थियो।
खाद्यवस्तुलगायत अत्यावश्यक दैनिक उपभोग्य वस्तुको आपूर्ति गर्ने निकाय र संघ संस्थालाई अब वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, बैंक तथा वित्तीय संस्थाहरुलाई नेपाल राष्ट्र बैंकले र सरकारी कर्मचारीले प्रयोग गर्ने सवारी साधनको पास संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अन्य आकस्मिक प्रयोजनका लागि आवश्यक पर्ने सवारी पास मात्रै प्रशासन कार्यालयले दिने भएको छ।