काठमाडौँ– भुक्तानी सेवाप्रदायक ई-सेवाले आफ्ना ग्राहकका लागि ‘रिफर एण्ड अर्न’ अफर सार्वजनिक गरेको छ। कोभिड–१९को प्रकोपका कारण सबै जना घरमा बसिरहेको अवस्थामा यो अफरबाट ई-सेवा खातामा रिफरल बोनस प्राप्त गर्न सकिने कम्पनीले एक विज्ञप्तिमार्फत जनाएको छ।
नगद रहित समाज निर्माणका लागि आफू पनि डिजिटल सेवा प्रयोग गरौँ र अरुलाई पनि प्रोत्साहन गरौँ भन्ने अभियान अन्तर्गत ई-सेवाले हरेक व्यक्तिलाई डिजिटल अभियानकर्मी बनाउन यो अफर सार्वजनिक गरेको हो। अफरअन्तर्गत ईसेवा चलाउन सिकाए बापत प्रतिग्राहक रु ८० सम्म प्राप्त गर्न सकिनेछ। आफ्ना परिवार, साथीभाई तथा आफ्नो मोबाइलमा रहेका सम्पर्क नम्बरलाई ई-सेवा चलाउन सिकाउन सकिनेछ।
ई-सेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले हरेक नेपालीलाई डिजिटल कारोबारमा जोड्ने उद्देश्यका साथ यो योजना सुरु गरिएको बताएका छन्। ई-सेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेज लगायतको शुल्क भुक्तानी गर्न सकिन्छ। ई-सेवामा हाल ५० वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन्। यी बैङ्कबाट ई-सेवामा सहजै रकम जम्मा गर्न तथा ई-सेवाबाट बैङ्क खातामा रकम पठाउन सकिने कम्पनीले जनाएको छ। रासस