काठमाडौं– कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित दुई जनाको दोस्रो पटक गरिएको टेस्टको रिर्पोट पनि पोजेटिभ आएको छ। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत नेपालका दोस्रो र तेस्रो कोरोना संक्रमित बिरामीको नमुना संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो।
दोस्रो पटक गरिएको टेस्टको रिपोर्ट नेगेटिभ आए उनीहरुलाई डिस्चार्ज गर्ने तयारी थियो। तर उनीहरुको अस्पतालको बसाइ लम्बिएको छ। अब दुई दिनपछि पुनः नमुना संकलन गरी परीक्षण गरिने टेकु अस्पतालका एक चिकित्सकले जनाए।
चैत ४ मा फ्रान्सबाट कतारको दोहा हुँदै आएकी १९ वर्षीय युवतीमा चैत १० गते कोरोनाको संक्रमण भेटिएको थियो भने चैत ६ गते यूएईबाट नेपाल आएका धादिङका ३४ वर्षीय युवकलाई चैत १२ मा कोरोना संक्रमण पुष्टि भएको थियो। अस्पतालले भने उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ।