काठमाडाैं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अत्यावस्यक मेडिकल सामग्री खरिद प्रकरणमा संलग्नहरुलाई जिम्मेवारीबाट मुक्त गरेर अनुसन्धान प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराएको छ ।
कांग्रेस सभापती शेरबहादुर देउवाले शुक्रबार एक विज्ञप्ती जारी गर्दै अनुसन्धान र कारवाही प्रक्रियामा सघाउन प्रधानमन्त्रीलाई आग्रह समेत गरेका छन् । सभापती देउवाले यस्तो बेला खरिद प्रकरणमा भएको गम्भीर अनियमितताको घटनाले देशकै प्रतिष्ठामा आघात पुर्याउने काम गरेको टिप्पणी समेत गरेका छन् ।
कांग्रेसले खरिद प्रकरणलाई आपत्तिजनक र लज्जास्पद घटनाको संज्ञा दिएको छ । सभापती देउवाद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, “अत्यावश्यक सामग्री खरिदमा ढिलाइ, टेन्डर प्रक्रियाको अपारदर्शीता, बढी मूल्य निकासा गराएर राज्य कोषमा गरिएको भ्रष्टाचार एवं विश्व स्वास्थ संगठनको मापदण्ड विपरीतको कमसल सामग्री खरिद जस्ता अत्यन्तै आपत्तिजनक र लज्जास्पद घटना कुनैपनि दृष्टिले माफी योग्य छैन ।”
कांग्रेसले अहिलेको अवस्थामा भ्रष्टाचारले सहजता पाउन सक्ने भएकाले विशेष चनाखो भई कार्य गर्न संवैधानिक निकायहरुको पनि ध्यानाकर्षण गराएको छ । विज्ञप्तीमा भनिएको छ, “लक डाउनका कारण एक ढंगले बन्द समाजको स्थिति बनेका बेला भ्रष्टाचारका प्रकरणले सहजता पाउन सक्ने वातावरणलाई दृष्टिगत गर्दै सम्बन्धित संवैधानिक निकायले बिशेष चनाखो भइ कार्य गर्न आवश्यक छ । अतः अपारदर्शी ढंगले कार्य भएको व्यापक समाचार दृष्टिगत गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खरिद प्रकरणको गहिरो अनुसन्धान गर्न र कार्वाहीको प्रक्रिया अघि बढाउन जरुरी छ ।”
अहिलेको संकटसँग जुध्न कांग्रेस निरन्तर सरकारको साथमा रहेको भन्दै सभापती देउवाले अनियमितता र बेथितिको विरुद्धमा निरन्तर उभिने स्पष्ट गरेका छन् ।
कांग्रेस सभापती शेरबहादुर देउवाद्वारा जारी विज्ञप्तीः