यति बेला कोरोना भाइरस अर्थात कोभिड १९ को संक्रमण फैलिन नदिन नेपाल लगायत विश्वका थुप्रै मुलुकहरु लागिपरेका छन्। धेरै राष्ट्रहरु हाल लकडाउनको अवस्थामा छन् भने कुल जनसंख्याको झण्डै एक चौथाई मनिसहरु घर भित्र थुनिन बाध्य छन्। यसले कोरोना माहामारी नियन्त्रणका लागि महत्वपूर्ण भुमिका खेल्छ, यद्यपि यसबाट आर्थिक क्षेत्रमा पुग्ने असर अकल्पनिय हुने अनुमान शुरु भइसकेको छ।
विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण द्रुत गतिमा फैलिरहेको छ। कोरोना भाइरसको द्रुत फैलावटसँगै यसबाट बच्ने उपाय, महामारीको अन्त्य, कोरोना भाइरसको मृत्यु लगायतबारे सुचनाहरु पनि तिब्र गतिमा फैलिरहेका छन्। यसै क्रममा तापक्रम बढेर ३० डिग्री सेल्सियस पुगेपछि अर्थात् गर्मी लागेसँगै कोरोना भाइरसको संक्रमण कम हुँदै जाने सूचना यतिखेर सामाजिक सञ्जालमा भाइरल बनेको छ।
के साच्चिकै गर्मी मौसममा कोरोना भाइरसको संक्रमण कम होला त ?
यो भाइरस डिसेम्बर महिनाबाट फैलिन सुरु भएको थियो। अहिले अप्रिल माहिना लागेको छ। नेपालमा अप्रिल महिना लागेसँगै तापक्रम बढ्न थाल्दछ, र जुन महिनातिर तापक्रम चरम विन्दुमा पुग्छयसरी बढ्दो तापक्रमले कोरोना भाइरसमाथि कस्तोे असर पार्ला त ? आममानिसहरुको जिज्ञासा यतिबेला यसैमा केन्द्रीत देखिन्छ।
गत फेब्रअरी महिनाको १० तारिखका दिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो भाइरस अप्रिल महिनामा समाप्त हुने बताएका थिए। सधारणतया गर्मी मौसम वा बढ्दो तापक्रमले यस्तो भाइरसको प्रकोप र फैलावटलाई सुस्त बनाउन सक्ने उनको दावी थियो। यद्यपि कोरोना मौसमी भाइरस हो वा होइन भन्ने विषयमा भने अमेरिकी राष्ट्रपति स्वयं अनभिज्ञ थिए। यसबारे पत्ता लगाउन आवश्यक रहेको उनको भनाई थियो।
अब एकैछिन, यसअघि फैलिसकेको कोरोना भाइरसकै समूह अन्तरगत पर्ने सार्स र मर्स भाइरस बारे पनि चर्चा गरौँ। सन् २००२मा चीनबाट सुरु भएको सार्स (Severe Acute Respiratory Syndrome- SARS) भाइरस त्यतिबेला विश्वव्यापी रुपमा फैलिएको थियो। नोभेम्बर महिनाबाट फैलिन सुरु भएको सार्स भाइरस जुलाई महिना लागेसँगै लगभग गयब भइसकेको थियो। अर्थात यो भाइरस गर्मी महिना लागेसँगै गायब भएको बुझिन्छ। यद्यपी सन् २०१२ मा साउदी अरबबाट उत्पन्न भएको मर्स (Middle Eastern Respiratory Syndrome- MERS) भाइरस भने सेप्टेम्बर महिनाबाट फैलिन सुरु गरेको थियो। यस समयमा त्यहाँको तापक्रम तुलनात्मक रुपमा धेरै हुने गर्दछ। यस आधारमा मर्स भाईरस र तातो तापक्रमबीच कुनै सम्बन्ध रहेको देखिदैन। त्यसैले विश्वभरका बैज्ञानिक तथा विज्ञहरु कोरोना भाइरसमाथि बढ्दो तापक्रमले के असर गर्छ भन्ने कुरामा निश्चित भएका छैनन्।
हालसम्मका कुनै पनि अध्ययनले तापक्रम र कोभिड १९ बिचको सम्बन्धमा कुनै ठोस प्रमाणहरु फेला पारेका छैनन्।
यद्यपी अमेरिकाको एमआईटी (Massachusetts Institute of Technology-MIT) ले गरेको एक अनुसन्धानले मौसम जति गर्मि भयो र हावामा जति धेरै आद्रता भयो, संक्रमण त्यति नै कम फैलने निश्कर्ष निकालेको छ। वैज्ञानिकहरुले गरेको यस अनुसन्धानमा जुन मुलुकमा आद्रता धेरै छ, अहिले सम्म त्यहाँ संक्रमण कम देखिएको छ।
यस्तो निश्कर्षमा पुग्नुअघि एमआईटीका वैज्ञानिकहरुले विश्वभरका विभिन्न स्थानहरुबाट कोरोना संक्रमणको तथ्यांक संकलन गरि तापमान र आद्रताको विषयमा अध्ययन गरेका थिए। जसबाट ३ देखि १७ डिग्री सेल्सियस सम्म औषत तपक्रम भएको मुलुक कोरोनाको संक्रमणबाट सबै भन्दा बढी प्रभावीत भएको पाइयो।
अमेरिका, इटाली, चीन, स्पेन, फ्रान्स, इरान, दक्षिण कोरिया तथा ब्रिटेन कोरोनाबाट सबै भन्दा बढी प्रभावीत भएका मुलुक हुन्। मार्च महिनामा यी मुलुकहरुको औषत तापक्रम ३ देखि १७ डिग्री सेल्सियससम्म हुने गर्छ भने ४ देखि ९ ग्राम प्रति क्यूबिक मिटर (4 to 9g/m3) आद्रता अर्थात एक घनमिटर हावामा ४ देखि ९ ग्राम पानी समावेश रहेको हुन्छ। त्यसै गरी १८ डिग्री सेल्सियस तापक्रम र ९ ग्राम प्रति क्यूबिक मिटर भन्दा बढी आद्रता भएको मुलुक वा स्थानमा संक्रमण कम भएको अध्ययन प्रतिवेदनमा उल्लेख छ।
एमआइटीको प्रतिवेदन अनुसार कोरोनाको प्रकोपबाट सबै भन्दा बढी प्रभावित २६ राष्ट्रमध्ये १६ वटा राष्ट्र यूरोप अन्तरगत पर्दछन्। तुलनात्मक रुपमा तापक्रम कम हुने युरोप अहिले कोरोनाको एपीसेन्टर बनेको छ। त्यस्तै एसियाली राष्ट्रहरुमा कोरोना संक्रमणको गति यूरापियन राष्ट्रहरुमा भन्दा कम देखिएको छ। यहाँको वातावरणमा १० ग्राम प्रति क्यूबिक मिटर आद्रता रहेको प्रतिवेदनमा उल्लेख छ।
हुन त गर्मी मौसम शुरु भएपछि कोरोना भाइरस मर्न सक्छ भन्नेबारे कुनै प्रमाणित तथ्य सार्वजनिक भएको छैन, तर वातावरणिय तापक्रमले यसको संक्रमण फैलिने गतिलाई भने घटाउन सक्ने एमआईटीका वैज्ञानिकहरुले बताएका छन्।
देश |
तपमान (डिग्रि सेल्सियस) |
संक्रमित |
अमेरिका |
१४ |
२,२५,३९३ |
इटाली |
१३ |
१,१५,२४२ |
स्पेन |
८ |
१,१२,०६५ |
जर्मनी |
७ |
८४,७९४ |
चीन |
१७ |
८१,६२० |
फ्रान्स |
१३ |
५९,१०५ |
इरान |
१५ |
५०,४६८ |
कोरोनाभाइरसका कारण सबै भन्दा बढी प्रभावित राष्ट्रहरुको सूचिमा अमेरिका शिर्ष स्थानमा छ। संक्रमित संख्याले नयाँ उचाई लिएसँगै अमेरिकामा कारोना भाइरस अनियन्त्रित बन्दै गएको छ। हाल १४ डिग्रि सेल्सियस औषत तापमान रहेको अमेरिकामा २ लाख ४५ हजार ३ सय ७३ मा कोरोना पोजिटिभ पुष्टि भएको छ।
त्यस्तै १३ डिग्रि सेल्सियस औषत तापमान रहेको युरोपेली राष्ट्र इटाली हाल दोस्रो स्थानमा रहेको छ। युरोपेली मुलुकहरुमध्ये सबैभन्दा बढी प्रभावित बनेको इटालीमा कोरोना संक्रमितको संख्या झन्डै १ लाख १५ हजार २ सय ४२ पुगेको छ। यस्तै तेस्रो स्थानमा रहेको स्पेनमा १ लाख १२ हजार संक्रमित रहेका छन् भने त्यहाँ औषत तापक्रम अहिले ८ डिग्रि सेल्सियस रहेको छ।
त्यस्तै अर्को युरोपेली राष्ट्र जर्मनी ८४ हजार ७ सय ९४ संक्रमितको संख्यासँगै चौथो स्थानमा उक्लीएको छ। त्यहाँको तापक्रम अहिले १७ डिग्रि सेल्सियस रहेको छ। कोरोनाको उद्गमस्थल रहेको चीन अहिले पाँचौं स्थानमा रहेको छ। त्यहाँ ८१ हजार ६ सय २० जना कोेरोना संक्रमित छन्। कोरोना भाइरस शुरु भएको वुहान शहरमा हाल ७ डिग्रि सेल्सियस औषत तापमान रहेको छ। चीनले कोरोनाको महामारी नियन्त्रण गर्दै लगेको छ।
छैटौं स्थानमा रहेको फ्रान्सको पेरिसको औषत तापमान १३ डिग्रि सेल्सियस छ भने त्यहाँ ५९ हजार १ सय ५ भन्दा बढी संक्रमित छन्। यसैगरी ५० हजार ४ सय ६८ संक्रमित संख्या रहेको इरानमा हाल १५ डिग्रि सेल्सियस औषत तापक्रम रहेको छ।
स्विट्जरल्याण्ड, ब्रिटेन, दक्षिण कोरिया, नेदरल्याण्ड, अष्ट्रिया, बेल्जियम लगायतका राष्ट्रहरु पनि कोरोनाबाट प्रभावित छन् । यी देशहरुको तापमान मार्च महिनामा ३ देखि १७ डिग्री सेल्सियसको बिचमा हुने गर्छ। एमआइटीका बैज्ञानिकहरुको निष्कर्षलाई अमेरिकाको आन्तरिक अवस्थाले पनि केहि हद सम्म पुष्टि गर्न मद्दत गर्दछ।
अमेरिकामा पनि उत्तरी र दक्षिणी क्षेत्रमा कोरोना संक्रमणको गति फरक फरक रहेको छ। अमेरिकाको दक्षिणी क्षेत्रको तुलनामा उत्तरी क्षेत्र चिसो हुन्छ। उत्तरी क्षेत्रमा रहेको न्यूयोर्क, न्यूजर्सीमा संक्रमित मानिसको संख्या धेरै छ भने दक्षिणी क्षेत्रका टेक्सास, एरिजोना तथा न्यू मेक्सिकोमा संक्रमणको स्तर कम रहेको छ।
अन्त्यमा, हालसम्म कोरोना भाइरस रोगको उपचारका लागि कुनै औषधि पत्ता लागिसकेको छैन। त्यसका लागि धेरै देशहरुमा तीव्र रुपले अध्ययन अनुसन्धानहरु भइरहेका छन्। गर्मी मौसम वा आद्रता भएको तापक्रमबाट यस भाइरस नष्ट नभए पनि यसको संक्रमण फैलिने गति भने घट्न सक्ने बैज्ञानिकहरुको विश्वास छ। तर, तापक्रम बढेपछि अथवा गर्मी मौसम शुरु भएपछि कोरोना भाइरसको संक्रमण कम हुन्छ भन्ने अहिलेसम्म प्रमाणित भएको छैन।
फ्लू र इन्फ्लुएन्जा जस्ता भाइरसको प्रभाव गर्मी बढेसँगै कम हुँदै जाने भएकाले कोरोनाभाइरस पनि उस्तै होकी भनेर अनुमान गरिएको हो। त्यसैले गर्मी वा जाडो जहाँ बस्ने भएपनि भाइरस संक्रमण हुन नदिन सावधानी अपनाउन जरुरी छ।