स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कास्कीमा भएको नमुना परीक्षणमा कसैमा पनि कोरोना संक्रमणको पुष्टि नभएको बताएकाे छ।
आज शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले केही सञ्चारमाध्यममा पोखरामा कोरोना संक्रमणको पुष्टि भएको भन्दै समाचार आएपनि हालसम्म भएको जाँचमा संक्रमण पुष्टि नभएको स्पष्ट पारेका हुन् ।
यसअघि गण्डकी प्रदेश सरकारकाे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालयलाइ उदृत गर्दै कास्कीमा एकजनामा काेराेनाकाे टेष्ट पाेजिटिभ आएकाे समाचार संचार माध्यमहरुमा आएकाे थियाे ।
त्यसतर्फ इंगीत गर्दै प्रवक्ता देवकाेटाले क्षेत्रीय प्रयोगशाला भर्खर सञ्चालनमा आउन थालेकाले पूर्ण नतिजा दिन समय लाग्ने बताए । उनले एकपटक आएको नतिजा क्षेत्रीय प्रयोगशाला र काठमाडौं दुवैतिर पुनःपरिक्षण गर्नुपर्ने पनि स्पष्ट गरे ।
मन्त्रालयकाे तथ्यांक अनुसार, हालसम्म देशभर एक हजार १२ सय ७७ जनामा कोरोना परीक्षण गरिएको र १ सय २० जनालाई ‘आइसोलेसन’मा राखिएकाे छ । त्यसैगरी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगै हेटौंडा, जनकपुर, सुर्खेत र धनगढीमा परीक्षण सुरु भएकोे प्रवक्ता देवकाेटाले जानकारी दिए । उनले बुटवलमा पनि परीक्षण सुरु गराउने तयारी भएको बताए।
मन्त्रालयका अनुसार, धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३९, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १९, सुर्खेतमा सात, धनगढीमा चार, जनकपुरमा पाँच र हेटौंडामा पाँचजनामा कोरोनाको परीक्षण भएको छ ।