काठमाडौं– सरकारले लकडाउन अवधिभरका लागि निश्चित ठाउँबाट १० प्रतिशत छुटमा दैनिक उपभोग्य सामान उपलब्ध गराउने तयारी गरेको छ।
मन्त्रिपरिषद्को बैठकले खाद्य तथा अतिआवश्यकीय वस्तुमा १० प्रतिशत छुट गरिने भनेर गरेको निर्णयपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यस्तो तयारी गरेको हो। मन्त्रालयले सरकारका मातहतका खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट टेड्रिङले बिक्री गर्दै आएका खाद्यान्न, चामल, गेडागुडी, इन्डक्सन चुलो, नुुन, चिनी, एसटीसी ग्यासलगायतमा १० प्रतिशत छुट दिने तयारी गरेको छ।
मन्त्रालयका प्रवक्ता प्रकाश दाहालले ती कम्पनीबाट छुटसहित उपलब्ध गराउने सामान बिक्रीको निर्देशिका बनाउने क्रममा भएको र एक/दुई दिनमै निर्देशिका तयार हुने बताए।
निर्देशिकामा खाद्यान्नको छुट कस्तो वर्ग वा समुदायका व्यक्तिलाई दिने भन्ने विषयमा स्पष्ट परिभाषा गरिने र त्यही आधारमा ती कम्पनीबाट उपलब्ध हुने सामान १० प्रतिशत छुटमा दिइने उनको भनाइ छ। यो समाचार आजको गोरखापत्र दैनिकमा सीता शर्माले लेखेकी छन्।