कोरोना भाइरस (कोभिड –१९ ) सम्भावित जोखिम हुन नदिन सरकारले लकडाउन गरेपछि पनि सरसफाइकर्मीले काठमाडौ महानगरको सफाइलाई जारी राखेका छन्। अहिले उनीहरुलाई थप व्यक्तिगत सुरक्षाको पोशाक अभाव रहेको बताएक छन्।
सो अभाव हुन नदिन काठमाडौ उपत्यकाको सफाइ, सार्वजानिक शौचालय सुधार र स्वच्छता कायम गर्न क्रियाशील गैरसकारी सस्था ‘गुथि’ ले वाटर एड नेपालको आर्थिक एवं प्राविधिक सहयोग तथा फोरमैला व्यवस्थापन सङघको सहकार्यमा काठमाडौं महानगरपालिका र कीर्तिपुर नगरपालिका कार्यरत ५०० सफाइकर्मीलाई व्यक्तिगत सुरक्षालाई ख्याल गरी आवश्यक सुरक्षा सामग्री वितरण गरेको छ।
ती सामग्रीमा ग्लोभ, मास्क र सुरक्षा पोशाक (पिपीइ) रहेका गुथिका प्राविधिक सल्लाहकार प्रकाश अमात्यले जानकारी दिएका छन्। उनले सरसफाईकर्मीको स्वास्थ्यमा जोखिम हुन नदिन थप व्यक्तिगत सुरक्षाका अभाव हुन नदिन ती सामग्री वितरण गरिएको बताएका छन्। शुक्रबार आयोजित कार्यक्रममा ती सामग्री ती दुई नगरका प्रमुखलाई हस्तान्तरण गरिएको थियो।
सो अवसरमा काठमाडौंमहानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले व्यक्तिगत सुरक्षा सामग्रीले कोरोना भाइरसको सम्भावित जोखिम हुन नदिन र अस्पतालजन्य फोहर व्यवस्थापन गर्न सहयोग पुग्ने बताएका छन्। सरसफाइकर्मीको स्वास्थ्य सुरक्षामा जोखिम हुन नदिन महानगरले उच्च प्राथमिकता दिएको र सरकारले घोषणा गरेको स्वास्थ्य बीमा कार्यान्वयन गर्न पहल गर्ने जानकारी दिएका छन्।
अत्यावश्यक सेवामा कार्यरत कामदारका लागी रु २५ लाखको स्वास्थ्य बीमाको व्यवस्था सरकारले गरेको छ। कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले कोरोना भाइसरको जोखिम हुन नदिन सरसफाइकर्मीले सुरक्षा पोशाक अनिवार्य रुपमा लगाउनुपर्छ र सरसफाइमा विशेष ध्यान आग्रह गरे। अहिलेको समयमा नगर सफा गर्न पहिलो भूमिका सफाइकर्मीको हुँदा उनीहरुको स्वास्थ्यलाई नगरले प्राथमिकता दिएको जानकारी दिएका छन्।
गुथिका सल्लाहकार अमात्यले लकडाउनमा पनि सफाइकर्मीले सफाइ जारी राखी नगरको स्वच्छता कायम गर्न सहयोग गरिराखेको हुँदा कोरोना भाइरसको सम्भावित जोखिम हुन नदिन पोशाक वितरण गरेको बताएका छन्। काठमाडौं महानगरपालिकाका प्रवक्ता इश्वरमान डंगोलले सरसफाइमा नगरपालिका सँधै नै संवेदनशील रहेको र यसको व्यवस्थापनका लागी दीर्घकालीन योजनालाई कार्यान्वयमा ल्याइएको बताएका छन्।
फोहरमैला व्यवस्थापन सङ्घका अनुसार काठमाडौ उपत्यकामा भित्रका नगरपालिकामा ६५ सरसफाइ कम्पनि अन्तर्गत दुई हजार ५०० सरसफाइकर्मी कार्यरत छन्। देशभर करिव ६ हजार भन्दा बढी सरसफाइकर्मी नगर सरसफाइमा कार्यरत छन्। सरसफाइ अत्यावश्यक सेवामा रहेको छ । यसको अभावमा नगरको वातावरण स्वच्छ नरहने र थप जोखिम निम्त्याउन सक्ने जनाइएको छ।
सङ्घका अध्यक्ष धनप्रसाद आचार्यले कोरोना भाइरसको जाखिम हुन नदिन सङ्घले आफ्नो तर्फबाट सहयोग गरिराखेको जानकारी दिँदै र सफाइकर्मीको स्वास्थ्यलाई ध्यान दिन नगरपालिकासित आग्रह गरे। उनले सुरक्षा पोशाक काठमाडौ उपत्यकाका सबै सरसफाइकर्मीलाई नगरपालिकाले उपलब्ध गराउन माग गरे। सङ्घ महासचिव मित्र घिमिरेले सफाइकर्मीलाई व्यक्तिगत सुरक्षा सामग्री अभाव रहेको बताएका छन्। (रासस)