सरकारले नेपालमा कोरोनाको संक्रमण दोस्रो चरणमा प्रवेश गरेको बताएको छ । नेपालभित्रै बसोबास गर्दै आएकी धनगढीकी एक महिलामा कोराना देखिएपछि सरकारले संक्रमणको अवस्थालाई दोस्रो चरण भनेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियममित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले संक्रमणको लोकल ट्रान्समिसन देखिएकाले विदेशबाट आएका सबैलाई अनिवार्यरुपमा क्वारेन्टाइनमा बस्न र सावधानीका सबै उपायहरु अवलम्बन गर्न आग्रह गरे ।
यसअघि आज दिउसो थप तीन जनामा कोरोनाको संक्रमण देखिएको थियो जसमध्ये एक जना संक्रमित यात्राको कुनै इतिहास नभएकी धनगढीमै बसोबास गर्ने महिला थिइन् ।
संक्रमण देखिएका अन्य दुइजना भने भारतबाट नेपाल आएका पुरुष थिए । उनीहरुकाे कैलाली र कन्चनपुरको क्वारेन्टाइनमा रहेको अवस्थामा परिक्षण गर्दा पोजीटीभ देखिएको प्रवक्ता देवकोटाले जानकारी दिए । आज संक्रमण देखिएका तीनै जनाकाे धनगढीस्थित प्रादेशीक अस्पतालमा उपचार भइरहेकाे छ ।
याे सँगै नेपालमा काेराेनाबाट संक्रमित हुनेकाे संख्या ९ पुगेकाे छ । जसमध्ये एकजना निकाे भइसकेका छन् भने ८ जनाकाे विभिन्न अस्पतालहरुमा उपचार भइरहेकाे छ ।
उनले हालसम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा १ हजार ४ सय ४१ वटा परिक्षण भएकाे बताए । मन्त्रालयका अनुसार काठमाडाैं बाहिर ६ वटा ठाउहरु जनकपुर, धरान स्थित वि.पी. काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा, धनगढी, सुर्खेत र हेटौंडामा परिक्षण कार्य भईरहेको छ भने चितवन र बुटवलमा भोलिबाट परिक्षण सुरु हुनेछ।
मन्त्रालयका अनुसार, काठमाडौँ उपत्यकामा १५ जना र उपत्यका बाहिर ५४ जना आईसाेलेसनमा रहेका छन्। हलसम्ममा सबै संक्रमितको अवस्था समान्य नै रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।