प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरसको संक्रमण रोकथामका लागि प्रभावकारी कदम चाल्न सरकारकाे ध्यानाकर्षण गराएकाे छ । कैलालीमा एक स्थानीय महिलालाई कोरोना संक्रमण देखिएको बिषयलाई गम्भीरतापूर्वक लिएर परीक्षणको दायरा बढाउन कंग्रेसले सरकारलाई अनुरोध समेत गरेको छ।
काेराेना भाइरसकाे ब्यापक परिक्षणमा लाग्न सरकारलाइ झकझकाउँदै कांग्रेसकाे प्रश्न छ, "चीनकाे सफलताबाट सिक्ने की कतिपय देशकाे झैँ भयावह स्थिती प्रतिक्षा गर्ने ?
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार विज्ञप्ती जारी गर्दै काेराेनाकाे नयाँ संक्रमण स्थानीयमा देखिनु गम्भीरताको दोस्रो चरण भएकाले थप सतर्कता आवश्यक रहेको बताएका छन् ।
गम्भीर सतर्कता नपुग्नुको परिणाममा स्थानिय महिला संक्रमित बन्न पुगेकाे शर्माकाे धारणा छ। समयमै अन्तर्रा्ष्ट्रिय उडान रोक्ने, विदेशबाट आएका नेपालीलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने र परिक्षणको दायरा विस्तार गर्ने कार्य गरेको भए संक्रमणको खतरा बढेर जाने स्थित नहुने विज्ञप्तीमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएकाे छ, "यसअघि संक्रमित देखिएका सबैको परिवारजन, छरछिमेकी र घुलमिल भएका साथी समूहको परीक्षण, परीक्षण र परीक्षण, तत्काल, तत्काल र तत्काल गरौं।"
विदेशबाट आएका सबैलाई तत्काल अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्न कडाइका साथ सूचना जारी गर्न र सबै स्थानीय तह तथा स्थानीय प्रशासनमार्फत सूचनालाई कडाइका साथ कार्यान्वयन गर्न समेत कांग्रेसले आग्रह गरेको छ।