सुदूरपश्चिम प्रदेश सरकारले कोरोना भाइरसको जोखिमलाइ कम गर्नको लागि जारी लकडाउनको अवधि थप गर्न केन्द्र सरकारलाई सिफारिस गरेको छ।
लकडाउनको अवधि लम्बिने चर्चा चलिरहेको बेला नेपालभित्रै बसोबास गर्दै आएकी धनगढीकी एक महिलामा कोराना देखिएपछि प्रदेश सरकारको उच्चस्तरीय समितिले लकडाउनको अवधि लम्ब्याउने निष्कर्ष निकालेको हो।
कोरोना भाइरसको रोकथाम तथा न्युनिकरणको लागि सरकारले चैत ११ गतेदेखि देशभर लकडाउन जारी गरेको छ। चैत २५ गते लकडाउनकाे म्याद सिकन्छ।
शनिबार बसेको संघीय मन्त्रिपरिषद बैठकले लकडाउन लम्ब्याउने बिषयमा भने कुनै निर्णय गरेन। कोरोना संक्रमणको नेपाल दोस्रो चरणमा पुगेको भन्दै सरकारले एक स्थानीय तहबाट अर्को स्थानीय तहसम्म आवत जावतमा रोक लगाउने निर्णय गरेको छ।