भक्तपुरको खरिपाटीस्थित विद्युत प्राधिकरण तालिम केन्द्रस्थित क्वारेन्टाइनमा राखिएका ९४ जनाको कोरोना भाइरस संक्रमणको रिपोर्ट नगेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियममित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले खरिपाटीको क्वारेन्टाइनमा रहेका सबैको रिपोर्ट नेगेटिभ आएको बताएका हुन्।
शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले क्वारेन्टाइनमा बसेका कोरोना प्रभावित मुलुकबाट आएका ९४ जनाको थ्रोट स्वाब संकलन गरेको थियो।
हिजो बसेको मन्त्रिपरिषद्को बैठकको निर्देशन अनुसार कैलाली, कञ्चनपुर र बाग्लुङ यी तिन जिल्लामा कोरोना भाइरसको संक्रमित भेटिएपछि क्वारेन्टाइनमा रहेका सबैको र्यापिड डायगोनिस्टिक टेस्ट (आरडीटी) प्रविधिबाट कोभिड–१९ को परीक्षण गरिने भएको छ।
त्यसैगरी आज काठमाडौँ उपत्यकामा १२ जना र उपत्यका बाहिर एक सय एक जनालाई आईसुलेसनमा राखिएको मन्त्रालयले जनाएको छ। यसअघि खरीपाटी क्वारेन्टाइनमा चीनको वुहान शहरबाट उद्धार गरिएका १ सय ७५ जना विद्यार्थीलाई राखिएको थियो।