काठमाडौं- भक्तपुरको खरिपाटीस्थित विद्युत प्राधिकरण तालिम केन्द्रस्थित क्वारेन्टाइनमा राखिएका ९४ जनाको कोरोना भाइरस संक्रमणको रिपोर्ट नगेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियममित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले खरिपाटीको क्वारेन्टाइनमा रहेका सबैको रिपोर्ट नेगेटिभ आएको बताएका हुन्।
बुटवल- भैरहवा भन्सार कार्यालयले कोभिड–१९ सङ्क्रमण तथा रोकथामका लागि शुरु भएको लकडाउनको अवधिको १२ दिनमा २९ करोड रुपैंयाभन्दा बढी राजश्व सङ्कलन गरेको छ। उक्त भन्सारले चैत ११ गते देखि २२ गतेसम्मको १२ दिनको अवधिमा २९ करोड २५ लाख रुपैंया राजश्व सङ्कलन गरेको भैरहवा भन्सार कार्यालयको सूचना शाखाले जनाएको छ।
काठमाडाैं- कोभिड –१९ को रोकथामका बीचमा सुर्खेत जुम्ला उच्च अदालत जुम्लासहित साविक कर्णालीका पाँच वटै जिल्लाका अदालत संवेदनशील निवेदनका लागि खुला रहेका छन्। उच्च अदालतले बन्दी प्रत्यक्षीकरणसहित संवेदनशील मुद्दाका लागि अदालत खुला गरिएको जनाएको छ।सर्वोच्च अदालतको यही चैत ७ गते बसेको बैठकको निर्णयको निर्देशनानुसार अरु विषयलाई रोकेर बन्दी प्रत्यक्षीकरण, बालबालिकाले सुधारगृहबाट मुक्त पाउने भनिएका निवेदन, एक वर्षभन्दा कम समय भएकाहरुलाई जरिवाना तिरेर रिहाइ र कोरोनासम्बन्धी कुनै पनि निवेदनका बारेमा अदालत खुला रहेको मुख्य न्यायाधीश रत्नबहादुर बाग्चनले जानकारी दिए।
काठमाडौं- कोभिड(१९ को सम्भावित जोखिम हुन नदिन लकडाउन जारी रहेपछि नेपालमा रोकिएका दुई हजार ३७० विदेशी नागरिक स्वदेश फर्किएका छन्। पदयात्रालगायत विभिन्न सिलसिलामा यहाँ रहेका विदेशीलाई नेपाल पर्यटन बोर्डले सरोकारवाला निकायसँगको समन्वयमा काठमाडौंसम्म ल्याउन सहजीकरण गरेको थियो। यसरी स्वदेश फर्किएकामा जर्मनीका ९०७, फ्रान्सका ६०८, अमेरिकाका ३०२, अष्ट्रेलियाका २५६, डच नागरिक १२२, रेक रिपब्लिकनका १०२ र मलेसियाका ६६ जना रहेका छन्।
एजेन्सी- अमेरिकामा विभिन्न तरिकाले बसोबास गर्दै आएका नेपालीमूलका अमेरिकी तथा नेपालीभाषी पनि कोभिड–१९ को चपेटामा परेका छन्। अहिलेसम्म नेपालीमूलका एक जनाको निधन भएको छ भने करिब ५ सय जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्। तर यसको स्वतन्त्ररूपमा पुष्टि हुन सकेको छैन। अमेरिकामा रहेका नेपाली कति सङ्क्रमित भएका छन् भन्नेबारे आधिकारिकरूपमा बताउन कसैले पनि सकेका छैनन्।
भक्तपुर- चाँगुनारायण नगरपालिका–८ सुडालमा रहेको बीएम इँटाभट्टाले बनाएको पोखरीमा डुबेर उदयपुर गाईघाट नगरपालिका–४ आमटार घर भई सोही भट्टामा काम गर्ने ३० वर्षीय मुकेश राईको गए राति मृत्यु भएको छ। इँटा बनाउने पानी जम्मा गर्न बनाइएको पोखरीमा डुबेर मृत्यु भएको थाहा पाएपछि प्रहरीले पोखरीबाट शव झिकेर परीक्षणका लागि भक्तपुर अस्पताल पठाएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिएका छन्।
एजेन्सी- हाल कोरोना भाइरसले सबै भन्दा बढी प्रभावित राष्ट्र अमेरिकालाई चीनले १ हजार थान भेन्टिलेटर सहयोग गरेको छ। चीनले सहयोग गरेको भेन्टिलेटर न्युयोर्क राज्यमा प्रयोग गरिनेछन्। न्युयोर्क राज्यका गभर्नर एन्ड्रिउ कुमोले भेन्टिलेटर उपलब्ध गराएको भन्दै चीनप्रति आभार व्यक्त गरेका छन्। चीनले पठाएका भेन्टिलेटर शनिबार पुगिसक्ने बताए पनि हालसम्म प्राप्त भइनसकेको न्युयोर्क राज्यले जनाएको छ। सीएनएनका अनुसार न्युयोर्क सिटीमा संक्रमणदर उच्च भएको छ। पछिल्लो तथ्यांक अनुसार, त्यहाँ १ लाख १३ हजार मानिस कोरोना भाइरसको संक्रमित भएका छन्।
दुल्लु - कोभिड –१९ को संक्रमण फैलिन नदिन गरिएको लकडाउनपछि दैलेख बजार नजीकै गणेशथानमा बसोबास गर्दै आइरहेका तारा वादीको तीन दिनसम्म चुल्हो बलेन। तारालाई आफन्तले चामल, नुन र तेल पैँचो दिए। केही दिनसम्म पैँचोबाट ताराले चार जनाको परिवार पालिन्। सरकारले लकडाउन थप गरेपछि अन्य वादी समुदायले ताराको जस्तै पीडा भोग्नुप(यो। जहान परिवार पाल्न बादी समुदायले साहु महाजनबाट आफूसँग भएको पैसाले अन्न खोजेर ल्याए। त्यहीले गुजारा चलाए। “केटाकेटीलाई मात्र खान दिएर कहिल्यै हामी भोकै बस्यौँ, हातमुख जोर्न पाइएन”, कलम वादीले पीडा सुनाए।
काठमाडौं - अमेरिकाको न्यूयोर्कमा एक नेपालीको मृत्यु भएको छ। मृत्यु हुनेमा न्यूयोर्क बस्ने अजयमान छोंचुँ रहेका छन्। उनको शनिवार दिउँसो एल्मष्ट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
उनको हृदयघातका कारण मृत्यु भएको नेवा नख न्यूयोर्कले जनाएको छ। उनलाई ब्याक्टेरियल निमोनिया देखिएपछि अस्पताल भनो गरिएकोमा शनिवार उपचारकै क्रममा मृत्यु भएको हो। नेवा नख न्यूयोर्कले छोंचुँको निधनप्रति दुख व्यक्त गरेको छ।
ललीतपुर- कोरोना भाइरस (कोेभिड–१९) को सम्भावित जोखिम फैलिन नदिन लकडाउन भएपछि यस वर्ष बुलुगाउँको प्रसिद्ध चन्द्रभैरव जात्रा स्थगन गरिएको छ। प्रत्येक वर्ष चैतको एकादशीदेखि त्रयोदशीसम्म तीन दिन चन्द्रभैरवको जात्रा मनाउने चलन गोदावरी नगरपालिका–११ स्थित चापागाउँको बुलुमा रहेको थियो।
यस वर्ष जात्रा गर्न नसकिने भएपछि सम्बन्धित पुजारीबाट आफ्नो परम्परा बचाउने गरी पूजाआजा मात्र चलाउन अनुरोध गरिएको वडाध्यक्ष नीलबहादुर देशारले जानकारी दिएका छन्। यो जात्रा वर्षको एकपटक मनाउने गरिन्थ्यो। चैतको एकादशीको दिन बुलुको मुख्य चोकमा भैरवलाई खट बनाई राखेर पूजा गरिन्थ्यो।
भद्रपुर- इलाका प्रहरी कार्यालय काँकडभिट्टाले नक्कली चिकित्सकको भेषधारण गरेर काठमाडौँबाट झापा आएका दुई युवालाई आज बिहान नियन्त्रणमा लिएको छ। नियन्त्रणमा पर्नेमा ३३ वर्षीय दिलकुमार श्रेष्ठ र २८ वर्षीय गणेश अधिकारी रहेका छन्।
लकडाउनमा पनि ती युवा बा ६ च ७०१९ नम्बरको कारमा धरान हुँदै आज बिहान काँकडभिट्टा आइपुगेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न आएको बताएका उनीहरुमध्ये एक जनाले डा विनोद श्रेष्ठ नामको नक्कली परिचय पत्र बोकेका थिए।
धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले कोरोना भाइरसको जोखिमलाइ कम गर्नको लागि जारी लकडाउनको अवधि थप गर्न केन्द्र सरकारलाई सिफारिस गरेको छ। लकडाउनको अवधि लम्बिने चर्चा चलिरहेको बेला नेपालभित्रै बसोबास गर्दै आएकी धनगढीकी एक महिलामा कोराना देखिएपछि प्रदेश सरकारको उच्चस्तरीय समितिले लकडाउनको अवधि लम्ब्याउने निष्कर्ष निकालेको हो।कोरोना भाइरसको रोकथाम तथा न्युनिकरणको लागि सरकारले चैत ११ गतेदेखि देशभर लकडाउन जारी गरेको छ। चैत २५ गते लकडाउनकाे म्याद सिकन्छ।