जिल्लामा रहेका विभिन्न सङ्घसंस्थाले भरतपुर अस्पताललाई भिन्नभिन्न सामग्री सहयोग गरेका छन्। अविनाश ग्रुप अफ पोल्ट्री इण्डष्ट्रिज र स्काइ लार्क एग्रो प्रालीले आज अस्पताललाई पाँच हजार थान सर्जिकल मास्क हस्तान्तरण गरेको छ।
कम्पनीका तर्फबाट टीकाराम पोख्रेलले अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीलाई उक्त परिमाणको मास्क हस्तान्तरण गरेका हुन्। कोरोना भाइरसको त्रासका कारण उपचारमा समस्या नहोस् भनेर अस्पताललाई मास्क हस्तान्तरण गरिएको पोख्रेलले जानकारी दिए। केही दिनमा नै थप मास्क अस्पताललाई उपलब्ध गराउने उनले बताए।
आइतबार ती संस्थाले भरतपुर कोरोना विशेष (अस्थायी) अस्पताललाई पाँच हजार थान मास्क प्रदान गरेको थियो। यस्तै आजै जयकाली जडीबुटी उद्योग प्रालीले भरतपुर अस्पताललाई ६ सय थान साबुन प्रदान गरेको छ। आफ्नो कम्पनीको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत अस्पताललाई साबुन हस्तान्तरण गरिएको उद्योगका सुवास कुमार तिवारीले जानकारी दिए।
तिवारीले अस्पतालका अध्यक्ष र मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीलाई ती सामान हस्तान्तरण गरेका हुन्। चितवन उद्योग सङ्घअन्तर्गतको युवा उद्यमी मञ्चले पञ्जा, सेनिटाइजर र मेडिकल टोपी अस्पताललाई प्रदान गरेको छ । मञ्चका अध्यक्ष अमर घिमिरेले अस्पतालका अध्यक्ष डा अधिकारी र सुपरिटेन्डेन्ट डा तिवारीलाई तीन हजार थान पञ्जा, ३० लिटर सेनिटाइजर र ३०० थान टोपी हस्तान्तरण गरेका हुन्।
उक्त सामग्री ग्रहण गर्दै अस्पतालका अध्यक्ष डा अधिकारीले सङ्कटका बेलामा सबै संस्थाको सहयोगले काममा सहयोग हुने बताए। सहयोगप्र्र्ति आभार प्रकट गर्नुहुँदै उनले यसलाई आवश्यकताअनुसार अस्पतालमा खर्च गरिने बताए। रासस