काठमाडौं – लकडाउनलाई थप प्रभावकारी बनाउनका लागि ट्राफिक प्रहरीले सडकमा गुड्ने सवारी साधनमाथी निगरानी बढाएको छ। यससँगै ट्राफिक प्रहरीले ति सवारी साधनहरुको बिवरण संकलनकार्य पनि शुरु गरेको छ। महानगरीय ट्राफिक प्रहरी माहाशाखाको अगुवाईमा ट्राफिकले काठमाडौंका विभिन्न स्थानबाट हाल गुडिरहेका सवारीहरुको बिवरण संकलन गर्न लागेको हो। उपत्यकाको कोटेश्वर, थापाथली, महाराजगञ्ज र केशरमहलबाट बिवरण संकलन भइरहेको छ।
‘‘सडकमा गुडेका सबै सवारी अत्यावश्यक नै भएर गुडेका होईनन् की जस्तो लाग्यो’’ माहाशाखाका प्रमुख एसएसपी भिम ढकालले नेपालि पब्लिकसँग भने, ‘‘यिनै कुराहरुको स्क्रिनिङ गर्नका लागि बिवरण संकलन गर्न लागिएको हो।’’ यहि तथ्याङ्कका आधारमा आगामी दिनहरुमा योजना निर्माण गरीने उनले जानकारी दिए।
एसएसपी ढकालका अनुसार सोमबार बिहान ११ बजेदेखी शुरु भएको तथ्याङ्क संकलन कार्य साझँ ५ बजेसम्म चल्नेछ। ‘‘प्राप्त बिवरणहरुलाई केलाएर कामको प्राथमिकता पनि छुट्याउछौ’’ उनले थपे, ‘‘यसले लकडाउनलाई थप प्रभावकारी बनाउन मदत गर्नेछ।’’
अत्यावश्यक सामग्रीहरुको डेलिभरीलगायतको लागि प्रयोग हुने सवारीका कारण सडकमा सवारीको उपस्थिती देखिएको भएपनि समग्रमा प्रभावकारी नियन्त्रण भएको उनले बताए। ‘‘बाहिरी जिल्लाबाट पास लिएर काठमाडौँको बाटो प्रयोग गर्दै अन्य जिल्लामा जाने सवारीहरुका कारण पनि यहाँ गुड्ने सवारीको संख्या अलि बढिएको देखिएको हो’’ एसएसपी ढकालले भने, ‘‘अनावश्यक रुपमा सवारी चलाउनेहरुको संख्या त निकै घटेको छ।’’ अनावश्यक रुपमा सवारी लिएर सडकमा निस्कनेहरुमाथी आवश्यक कारवाही गरिएको हुँदा पनि अवस्था नियन्त्रणमा रहेको उनले बताए।