काठमाडौँको नागार्जुन नगरपालिकाका १० वटै वडामा राहत वितरण शुरु भएको छ। कोभिड –१९ को सम्भावित जोखिमलाई ध्यानमा राखेर सरकारले लकडाउन गरेपछि दैनिक गुजारा चलाउन समस्यामा परेका नगरवासीलाई राहत वितरण शुरु भएको हो।
जीवन धान्न समस्यामा परेका घरपरिवारलाई राहत वितरण शुरु गरिएको नगरपालिकाका उपप्रमुख सुशीला अधिकारीले जानकारी दिए। नगरपालिकाले तीन भन्दा बढी व्यक्तिको परिवारलाई ३० केजी चामल, तीन केजी दाल, दुई पोका नून, दुई लिटर खाने तेल, एक केजी चिनी र दुई साबुन दिएको छ। त्यस्तै तीनभन्दा कम भएका परिवारलाई त्यसको आधा वितरण गरिएको उपप्रमुख अधिकारीले बताए।
नगरपालिकाले राहत र कोरोना नियन्त्रणमा खर्च गर्न आफ्नो विपद् व्यवस्थापन राहत कोषबाट प्रत्येक वडालाई रु चार चार लाख विनियोजन गरेको छ । नगरपालिका वडा नं ८ स्थित भीमढुङ्गा स्वास्थचौकीमा नौ शय्याको आइसोलेशन बेड पनि निर्माण भएको छ। साथै स्वास्थ्यकर्मीको जीवनरक्षाका लागि सुरक्षा कवच पिपिई लगायत आवश्यक औषधि प्रत्येक स्वास्थ्य संस्थामा वितरण गरिएको बताइएको छ । रासस