कोरोना संक्रमणको रोकथामका लागि गरिएको लकडाउनका कारण यतीबेला देशभरीको जनजिवन ठप्प छ । उद्योग कलकारखाना, ब्यापार, ब्यवसाय सबै बन्द छन् । शैक्षिक संस्था बन्द हुँदा विद्यार्थीहरुको पठनपाठन पनि प्रभावित भइरहेको छ।
लकडाउन लम्बींदै जान थालेपछि ललितपुरको जावलाखेलस्थित वेदास क्याम्पसले अनलाईन पठनपाठन शुरु गरेको छ। लकडाउनका कारण लामो समय पठनपाठन अवरुद्द हुने भएपछि अनलाईन पठनपाठन शुरु गरिएको क्याम्पस प्रशासनले बताएको छ । ‘‘हामीले आफ्नै सफ्टवेयर निर्माण गरेर अनलाइन क्लास शुरू गरेका छौँ’’ वेदासका प्रमुख कार्यकारी अधिकृत कृष्णहरी पाण्डेले भने, ‘‘यसरी आफ्नै सफ्टवेयरमार्फत कक्षा सञ्चालन गरिएको यो नेपालमै पहिलोपटक हो।’’
क्याम्पसले ‘एमपरसेप्ट क्लासरुम’ नामक सफ्टवेयरमार्फत नियमितरुपमा अध्यापन गराईरहेको छ। यो सफ्टवेयरमा विद्यार्थीहरुका लागि आधुनिक सहयोगी सुविधाहरु रहेको र प्रयोग गर्न समेत सजिलो रहेको पाण्डेले दावी गरे। कक्षा सञ्चालनका लागि आवश्यक सबै सुविधाहरु रहेको दावी गर्दै उनले भने, ‘‘हामीसँग सिमलेस अडियो र भिडियो कन्फ्रेन्स, पठनपाठनका समयमा स्क्रिन शेयरिङ, छुट्टै छलफलका लागि ब्रेकआउट कोठा, प्रत्यक्ष शत्रको रेकर्डिङ, विद्यार्थीको नतिजा ट्रयाकर लगायतका सुविधाहरू छन्।’’
सफ्टवेयरमा शिक्षक तथा विद्यार्थीहरूका लागि व्यक्तिगत तथा सामुहिक च्याटरुम, प्रत्यक्ष कक्षाकोठाको रेकर्डिङ, सहकर्मी र आत्म मुल्यांकन तथा सुरक्षा र गोपनियता लगायतका सुविधा पनि रहेको क्याम्पसको दावी छ । ‘‘यसलाई मोबाइल, ल्यापटप र कम्प्युटरबाट प्रयोग गर्न सकिन्छ’’ पाण्डेले भने ‘‘हामीले यसलाई लकडाउन अवधिमा मात्रै होइन आगामी दिनहरुमा पनि प्रयोग गर्नेछौं।’’