विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) को कारण लिबियाका पूर्वप्रधानमन्त्री महमोद जिब्रिलको मृत्यु भएको छ। एलायन्सका सेक्रेटरी खलेद अल–म्रिमिका अनुसार ६७ वर्षीय जिब्रिलको आइतबार इजिप्टको कायरोमा मृत्यु भएको हो। उनी दुई सातादेखि अस्पतालमा उपचाररत थिए।
उनलाई मार्च २१ मा हृदयाघातको कारण अस्पतालमा भर्ना गरिएको अल जा जीराले जानकारी दिए। त्यसको तीन दिनपछि उनलाई कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको थियो। उनी केही महिनादेखि इजिप्टमा बस्दै आएका थिए।
सन् २०१२ मा उनले नेशनल फोर्सेस एलायन्सको स्थापना गरेका थिए। यसभन्दा अगाडी उनी गद्दाफीका आर्थिक सल्लाहकार थिए। हालसम्म लिबियामा १९ जनामा यो भाइरसको संक्रमण देखिएको छ भने एकजनाको मृत्यु भएको छ।