संक्रमणकालको मौका छोपेर कालोबजारी गर्नेहरुलाई पक्राउ गर्ने कार्यमा प्रहरीले निरन्तर सफलता हासिल गरिरहेको छ। मास्कको कृत्रिम अभाव सृजना गरेर महँगो मुल्यमा बिक्रि गर्ने माफिया तथा अन्य अत्यावश्यक वस्तुहरुको कालोबजारी गर्ने व्यापारीहरुमाथि प्रहरीले निगरानी बढाएको छ।
निरन्तरको निगरानी र सुराकीले दिएको सुचनाका आधारमा कालोबजारी गर्नेहरुलाई पक्राउ गर्न प्रहरीले विभिन्न तरिका अपनाउदैँ आएको छ। मगंलबार पक्राउ परेका जगदम्बा गु्रपका मालिक तथा शंकर ग्रुपका निर्देशक सुलभ अग्रवाललाई पक्राउ गर्न पनि प्रहरीले भिन्न उपाय अपनाएको छ।
‘‘थर्मलगन (ईन्फ्रारेड थर्ममिटर) को कालोबजारी भइरहेको सुचना पाएका थियौँ’’ महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले नेपाली पब्लिकसँग भने, ‘‘हामीले ग्राहक बनेर डिल गर्यौं।’’ प्रहरीले ग्राहक बनेर फोनमार्फत सम्पर्क गर्दा थर्मलगनको मुल्य १६ हजार बताइएको थियो।
ग्राहकको भेषमा रहेका प्रहरीले मोलमोलाई गर्दै जाँदा प्रति गोटा १५ हजार रुपैंयामा डिल भयो। ‘‘३५ सयदेखि ४ हजार रुपैयाँ सम्म पर्ने सामान १५ हजारमा बिक्रि गरीएको रहेछ’’, एसएसपी थापाले सुनाए, ‘‘त्यहि आधारमा पक्राउ गरेर कारवाही अघि बढाएका हौँ।’’ उक्त थर्मलगनको बजार मुल्य ३५ सय हाराहारी मात्र पर्ने अग्रवालले नै स्विकार गरिसकेकाले उनिमाथी कालोबजारी मुद्दा चलाईने एसएसपी थापाले बताए।
प्रहरीले अग्रवालसँगै ६४ वटा थर्मलगन पनि नियन्त्रणमा लिएकाे छ।