काठमाडाैं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ज्यालादारी श्रमिक, बेराेजगार र शहरी क्षेत्रमा डेरा गरी बसेका विद्यार्थीहरुका लागि तत्काल राहत घोषणा गर्न सरकारसँग माग गरेको छ। ज्यालादारी श्रमिकहरुको जीवन कष्टकर बनेको भन्दै कांग्रेसले तत्काल राहत घाेषणा गर्न माग गरेकाे हाे ।
कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीहरुको मंगलबार बसेकाे बैठकले अत्यावश्यक खाद्यान्नको सहजीकरण गराउन सरकारको ध्यानाकर्षण पनि गराएकाे छ । कांग्रेसले कृषि क्षेत्र र किसानलाई परेको मर्कामा आवश्यक राहत घोषणा गर्न पनि माग गरेकाे छ।
बैठकले कोरोना भाइरसको संक्रमण दोस्रो चरणमा प्रवेश गरेको स्थितिलाई गम्भीरतापूर्वक लिएर परिक्षणको दायरा व्यापक रुपले बढाउन अपिल गरेको छ। कांग्रेसले काेराेनाकाे संकटबाट नेपाल र नेपालीलाई जोगाउन सरकारलाई सघाउने निर्णय गरेको छ। कांग्रेसले लकडाउन पालना गर्न र उच्च सर्तकर्ता अपनाउन नागरिकहरुलाइ अनुराेध पनि गरेको छ।
लकडाउनपछि पहिलोपटक बसेको पदाधिकारीहरुको बैठकले पीपिई, परिक्षण कीट र भेन्टिलेटर लगायत अत्यावश्यक सामग्रीको तत्काल बन्दोबस्त गर्न सरकारलाई आग्रह गरेको छ। कांग्रेसले काेराेनाकाे संक्रमण राेकथामका लागि अहोरात्र कार्य गरिरहेका सुरक्षाकर्मी एवं संचारकर्मीहरुलाई संक्रमणको जोखिमबाट सुरक्षित राख्ने आवश्यक प्रबन्ध मिलाउन पनि माग रहेको छ।
स्वास्थ्य सामग्री खरिद गर्दा पारदर्शी ढंगले काम गर्न सरकारको ध्यानर्कषण गर्दै कांग्रेसले भ्रष्टाचार र अनियमितता छानिवनमा ढिलाइ नगर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ। कांग्रेसले सिमानामा रहेका नेपालीलाई स्वदेश भित्र्याएर क्वारेन्टाइनमा राख्न सरकारसँग माग गरेको छ।