हुन त इटाली विश्वका राष्ट्रहरुको सुचीमा अपरिचित नाम होइन, यदि कसैका लागि अपरिचित थियो भने पनि अब रहने छैन। विश्वभर फैलीएको कोरोना भाईरस (कोभिड १९) को माहामारीबाट सबैभन्दा बढि प्रभावित राष्ट्र हो, इटाली। विश्वभरीका मानिसहरुले यतीबेला इटालीका लागि प्रार्थना गरिरहेका छन्। त्यसो त कोरोनाबाट स्पेन र अमेरिका पनि निकै आक्रान्त भएका छन्। तै पनि मानिसहरुको मृत्युको संख्या र त्रासलाई हेर्ने हो भने इटालीको स्थिति निकै भयावह छ।
कोरोनाको महामारीबाट हालसम्म विश्वका करिब २ सय राष्ट्र प्रभावित छन्। १४ लाख भन्दा बढि मानिसहरु संक्रमित भएका छन् भने ८२ हजार १ सय ९५ जनाले ज्यान गुमाइसकेका छन्। संक्रमितको संख्या हेर्ने हो भने अमेरिका शिर्ष स्थानमा छ, जहाँ ४ लाख मानिसहरु संक्रमित छन्। इटालीमा संक्रमितको संख्या अमेरिका भन्दा कम भएपनि मृतकको संख्या बढि छ। इटालीमा १ लाख ३५ हजार ५ सय ८६ जना संक्रमित भएकामा १७ हजार १ सय २७ जनाले ज्यान गुमाइसके।
जबकी स्पेनमा १४ हजार ४५ र अमेरिकामा १२ हजार ८ सय ५७ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन्। स्पेन र अमेरिकामा इटाली भन्दा पछि कोरोना भाइरसको संक्रमण फैलिएको हो। संक्रमण शुरु भएको चीनमा भाइरसको प्रभाव यतीबेला नियन्त्रण जस्तै देखिन्छ। तर इटाली भने अझै उस्तै आक्रान्त र हैरान छ।
कसरी डरलाग्दो बन्यो त इटालीमा कोरोनाको संक्रमण ?
करिब ३ महिनाको अवधीमा इटालीमा यस्तो अवस्था आउनु पछाडी विभिन्न कारणहरु छन। वुहान शहरबाट भाइरसको संक्रमण शुरु भएपछि चीन आक्रान्त भइरहेका बेला इटालीमा त्यस्तो तनाव केही थिएन। तर जब इटालीमा संक्रमण देखिन शुरु भयो त्यसपछि त संसारभर नै कोलाहल मच्चियो। इटालीको यस्तो भयावह स्थितिबाट अन्य राष्ट्रहरुले सिक्नुपर्ने पाठ धेरै छन्।
पाठ एकः भाईरसलाई सामान्य रुपमा लीनु हुदैन
चीनको वुहान शहरबाट शुरु भएको कोराना भाइरसको संक्रमण दक्षिण कोरियासम्म पुग्दा पनि इटाली आफ्नै धुनमा मस्त थियो। इटालीको सानसीरो रंगशालामा अटलान्टा र भेलेन्सिया बिच फुटबल चलिरहेको थियो। फुटबलको मजा लिन ४० हजार मानीसहरु रंगशालामा भेला भएका थीए। खेलको दुइ दिनपछि कोरोनाको महामारी देखियो, द्रुत गतिमा फैलियो, अनि नियन्त्रण भन्दा बाहिर गयो।
यदि इटालीका नागरिक र सरकारले कोरोना भाइरसलाई गम्भिरतापुर्वक लिएर बेलामै सतर्कता अपनाएको भए यस्तो अवस्था नआउन सक्थ्यो। यसबाट इटालीले सिकाएको पाठ भनेको महामारीलाई सामान्यरुपमा लिनु हुँदैन, नत्र महामारीले असामान्य रुप लिन्छ। जसको परिणाम अकल्पनिय हुन्छ। त्यसैले महामारी रोकथामका लागि सरकारको मात्र होइन, नागरिकको पनि कर्तव्य हुन्छ। महामारीलाई सामान्य रुपमा नलिऔं।
पाठ दुईः भाईरस फैलीसकेपछी नियन्त्रणमा कठीन
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जारी गरेको ‘र्याङ्कीङ’मा ईटाली फ्रान्सपछी दोश्रो स्थानमा छ भने सोही ‘र्याङ्कीङ’मा नेपाल १ सय ११ औँ स्थानमा छ। ईटाली जस्तो बलीयो स्वास्थ्य प्रणाली भएको राष्ट्रमा त कोरोनाको महामारीले यस्तो अनियन्त्रित रुप लिन सक्छ भने हाम्रो जस्तो कमजोर स्वास्थ्य प्रणाली भएको मुलुकमा के होला ?
तीबेला इटालीका सरकारी अस्पतालहरु पनि कोरोना संक्रमणबाट हैरान भईसकेका छन्। दर्जनौं चिकित्सकहरु समेत कोरोनाबाट संक्रमित भएका छन्। नागरिकहरु मात्र होइन, सरकार समेत अत्तालिएको छ। बेलैमा ध्यान पुर्याएर आवस्यक कदम चालेको भए पक्कै पनि आज यस्तो अवस्था आउने थिएन।
नेपालले लकडाउनको निर्णय त बेलैमा गर्यो, तर अन्तराष्ट्रिय उडान तथा भारतबाट आउने नेपालीहरुलाई बेलैमा ब्यवस्थापन गर्न नसक्दा नेपालमा कोरोनाको संक्रमण देखियो। खुसीको कुरा अहिलेसम्म नेपालमा कोरोना संक्रमणको महामारी ब्यापकरुपमा देखिएको छैन, संक्रमित देखिएका ९ जना मध्ये एकजना निको भइसकेका छन् भने बाँकी ८ जनाको अवस्था सामान्य छ।
यद्यपि यसबाट ढुक्क भएर बस्ने अवस्था भने छैन। परिक्षणको दायरा ब्यापक बनाएर हरेक नागरिकको पहुँचमा पुर्याउनुपर्छ। कतिपय गाउँहरुमा सचेतना फैलाउन पनि आवस्यक देखिन्छ। हाम्रो जस्तो मुलुकमा नागरिक आफैं आएर परिक्षण गराउने अवस्था सृजना गर्नसक्नुपर्छ। अन्यथा, महामारी फैलिसकेपछि नियन्त्रण गर्न निकै कठिन हुन्छ भन्ने पाठ इटालीले राम्रैसँग सिकाइसकेको छ।
पाठ तीनः संक्रमणको तथ्याङ्क नहुँदा सरकारको अन्यौलता
कोरोना भाइरसबाट संक्रमितहरुको तथ्याङ्कले सरकारलाई भाइरसको सामना गर्ने प्रभावकारी योजना बनाउन र कार्यान्वयन गर्न सहयोग पुग्छ। इटालीमा भएको एउटा कमजोरी भाइरस संक्रमणको तथ्याङ्क संकलनमा हो। संक्रमणको ट्रेण्ड र संख्याबारे यकिन तथ्याङ्क नहुँदा त्यहाँको सरकार नियन्त्रणको योजनामा नराम्ररी चुक्यो। नेपालमा भारतबाट आएका व्यक्तिबाट आफन्तमा भाइरस सरेसँगै कोरोनाको संक्रमण दोस्रो चरणमा प्रवेश गरेको छ।
यस्तो अवस्थामा संक्रमणको सम्भावना रहेका व्यक्तिहरुको तथ्याङ्क लिएर तत्काल प्रभावकारी योजना चाल्नुपर्छ। यसरी गरिने तथ्याङ्क संकलन र त्यसै अनुसार चालिने प्रभावकारी कदमले नै कोरोनाको संक्रमण रोक्न मद्दत पुग्छ। अन्यथा, इटालीको झै रोदन नदोहोरिएला भन्न सकिन्न।
पाठ चारः सहि समयमा सहि निर्णयको आवश्यकता
कोरोना भाईरसको संक्रमण फैलिन नदिने सबैभन्दा पहिलो र प्रभावकारी कदम भनेको लकडाउन नै हो। तर इटाली त्यसैमा चुक्यो र कोरोनाको महामारीले द्रुत गति लियो। इटालीको अवस्थापछि नेपालसँगै संसारका धेरैजसो मुलुकहरुले लकडाउनको निर्णय लिएका छन्।
यद्यपि लकडाउन घोषणा गरेर मात्र पुग्दैन, नागरिकले पनि यसलाई विगतमा हुने गरेका आमहड्तालको रुपमा नभइ महामारी रोकथामका लागि हो भन्ने बुझेर पालना गर्नु उत्तिकै जरुरी हुन्छ। अन्यथा, प्रहरी उपस्थित नहुने हाम्रार गाउँघर, टोल छिमेकभित्रै महामारीले भयावह रुप नलेला भन्न सकिन्न। त्यसैले सही समयमा सही निर्णय सरकारले मात्र होइन, हामी नागरिकले पनि लिन सक्नुपर्दछ। इटालीले संसारलाई सिकाएको अर्को महत्वपूर्ण पाठ यही हो।
पाठ पाँचः अन्य राष्ट्रको अवस्थाबाट लिनुपर्ने ज्ञान
इटालीमा कोरोनाको संक्रमण त्यतिबेला देखियो जतीबेला चीनमा फैलिएको कोरोना भाइरसको संक्रमण दक्षिण कोरियामा पनि पुगीसकेको थियो। ती दुइ राष्ट्रको अवस्थाको विश्लेषण गर्दै इटालीले आवस्यक कदम चाल्न सकेको भए आजको अवस्था भोग्नु पर्दैन थियो कि !
दक्षिण कोरीयालेसुरुवातमा नै कोरोनाको संक्रमण नियन्त्रण गर्न सफल भएको थियो। इटालीले दक्षिण कोरीयालाई हेरेर सिक्ने कुराको अवसर गुमाइसकेको छ। यही देखेर पनि अब अरु मुलुक सचेत हुनुपर्छ र भइरहेका पनि छन्।
कोरोना भाइरस नयाँ भएका कारण यसबारे अध्ययन अनुसन्धानहरु जारी छन्। कोरोना भाइरसको उपचारका लागि हालसम्म कुनै पनि औषधी पत्ता लागेको छैन भने नियन्त्रणका लागि खोप पनि निस्केको छैन। विश्वभरीका विज्ञ, चिकित्सक तथा अनुसन्धानकर्ताहरु, यसका बारेमा जान्न र औषधी तथा खोप पत्ता लगाउन लागि परेका छन्। भर्खरै अमेरिकाको पेन्सेलभेनिया राज्यस्थित पिट्सबर्ग विश्वविद्यालयले कोरोना भाइरसविरुद्ध खोपको सफल परिक्षण भएको दाबी गरेको छ।
उनीहरुले मुसामा यो खोप प्रयोग गर्दा रोग प्रतिरोधक उत्पादन गर्ने देखाएको छ भने मानिसमा पनि केही महिनामा यो खोपको प्रयोग गरिने बताइएको छ। तर अहिलेका लागि यो भाइरसबाट बच्न सर्तकर्ता अपनाउनको विकल्प छैन। त्यसका लागि हामी सबैले लकडाउनको पालना गर्दै सामाजिक दुरी कायम राख्नुपर्छ। भिडभाड र मानिसहरुको जमघट कोरोना महामारी फैलिने सबैभन्दा डरलाग्दा ठाउँहरु हुन् भन्ने पाठ त हामी सबैलाई इटालीले सिकाइसकेको छ।