भारतबाट आउनुपर्ने कच्चा पदार्थ आयात नहुदा ७० प्रतिशत उद्योग अहिले बन्द छन्। लकडाउनले नेपाल भारत दुबैतर्फ पाउने र पठाउनुपर्ने बैकं ग्यारेन्टी तथा कच्चा पदार्थको आयात हुन नसक्दा उद्योगहरु बन्द हुने अवस्थामा पुगेका हुन्। यतीबेला उद्योगहरुले जेनतेन आवश्यकता पुर्ति गरिरहेका छन्।
अर्कातिर कारखानामा काम गर्ने मजदुरहरु लकडाउनका बेला घर गएका कारण पनि उद्योगको काम प्रभावित भएको छ। “अब अहिले मजदुर फर्काउन सक्ने कुनै उपाय छैन”, नेपाल चामल तेल दाल संघका अध्यक्ष सुबोध कुमार गुप्ताले भने, “जसले गर्दा उद्योगहरु भटाभट बन्दको अवस्थामा पुगेका छन्।”
कोरोना संक्रमण फैलन नदिन लकडाउन आवस्यक भएपनि सरकारले निजि क्षेत्रसँग छलफल र परामर्ष गर्नुपर्ने गुप्ताको भनाई छ। सञ्चालनमा रहेका उद्योगमध्ये ३० प्रतिशत मात्रैको अहिले उत्पादन भईरहेको तथा स्टकमा रहेको सामान पनि सकिने अवस्थामा पुगेको उनले बताए।
उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाका अनुसार, बैंकको कारोवार नभएर आयात निर्यातमा कठिनाइ भएको छ। “बैंकहरु नियमित नखुलेर ट्रान्जेक्सन हुन नसक्दा समानहरु पठाउन र मगाउन समस्या भएको छ”, उनले भने।
विरगञ्जमा अहिले बैंकहरु पालो अनुसार हप्ताको दुई दिन खुल्ने गरेका छन्। नियमितरुपमा बैंक नखुल्दा समस्या भएको ब्यवसायीहरुको गुनासो छ। “जेनतेन चलिरहेको उद्योगले खाद्यान्नको स्थितीमा दुई महिनासम्म अफ्ठयारो नहोला, तर दुई महिनापछी के गर्ने?” अध्यक्ष केडियाले प्रश्न गरे। ब्यवसायीहरुसँग रहेको स्टक पनि सकिन लागेको र मगाउन सक्ने अवस्था पनि नरहेको उनले बताए।