काठमाडौं, यो शब्द सुन्नेवित्तिकै प्रायःको मानसपटलमा बन्ने दृष्य हो, भिडभाड र कोलाहल। मुख्य सडक होस वा गल्लीहरु, पुराना बजार हुन् वा आधुनिक मलहरु सबै ठाँउमा मानिसको बाक्लो उपस्थिति हुने गथ्र्यो। सार्वजनिक सवारीमा समेत ‘‘खुट्टा टेक्ने ठाउ’’ हुदैनथ्यो।
तर, लकडाउनको घोषणासँगै दृष्य बदलिएको छ। सार्वजनिक सवारीहरु ‘पार्किङ’मा थन्किएका छन्। मलका मुलगेटमा ताला झुण्डिएका छन्। बजारमा कतै कतै औषधी र खाद्यवस्तुका खुद्रा पसल मात्र खुल्ला देखिन्छन्, जहाँ निकै कम ग्राहकहरुको उपस्थिती देखिन्छ।
लकडाउनले आमजनजिवन ठप्पझैँ बनाएको छ। व्यापारिकमात्र होईन सांस्कृतिक–धार्मिक गतिविधीहरु ठप्प छन्। दैनिक हजारौँ दर्शनार्थीहरुको आउजाउ हुने पशुपतीनाथ मन्दिर पनि अहिले सुनसान देखिन्छ जसको प्रभाव त्यहाँका बाँदरहरुमा परिरहेको छ।
दर्शनार्थीहरुले लगेको केरा, स्याउ लगायतका फलफुल खाएर पेट भर्दै आएका ति बाँदरहरुलाई अहिले निकै अफ्ठेरो परेको छ। ‘‘भक्तजनहरुले दिएको फलफुलले नै यिनीहरुको पेट भरिन्थ्यो’’, एक स्थानियले भनिन्, ‘‘अहिले त यिनीहरु भोकै नै छन् भन्दा पनि हुन्छ।’’
काठमाडौंको दरवारमार्गस्थित बीइङ्ग ह्यूमन क्लोथिङका सञ्चालकहरु आइतबार पशुपतिक्षेत्रमा रहेको गुह्यश्वरी पुग्दा बाँदरहरु घाम तापीरहेका थिए। नयाँ मानिस देख्नेवित्तिकै बाँदरहरु चनाखो देखिए। कारको डिक्कीबाट केराले भरिएको झोला बाहिर निकाल्नेवित्तिकै बीइङ्ग ह्यूमनका सञ्चालक सुरज केसी र उनका साथीहरुलाई बाँदरहरुले घेरीहाले। ‘‘यि बाँदरहरु भोकै रहेको थाहा पाएर हामी आएका हौ’’, उनले भने ‘‘हिजो पनि आएका थियौं, भोका बाँदरहरुको पेट भर्न पाउँदा आनन्द लाग्छ।’’
कोरोना भाइरसले निम्त्याएको लकडाउनका कारण प्रभावित भइरहेका मानिसहरु को बारेमा मात्र चर्चा भइरहेका बेला मान्छेमा आश्रित जनावरहरुको बारेमा पनि ध्यान दिन उनले आग्रह गरे। ‘हामीले मान्छेहरुको बारेमा मात्र सोचिरहेका छौँ’’, सञ्चालक केसीले थपे ‘‘हरेक व्यक्तिले आफ्नो क्षमताअनुसार यिनीहरुको लागि पनि केहि गर्नु आवश्यक छ।’’